अपराध अनुसन्धान गर्न ‘बडी क्यामेरा’

२०७५ जेष्ठ ३१ गते, बिहीबार

काठमाडौं, ३१ जेठ । इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिए ।
इप्रकाको कार्यप्रगति विवरणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रनानि कोइरालाले भने, ‘यो प्रविधिले अपराधीमात्र होइन प्रहरीको चालचलन र गतिविधिबारे जानकारी लिन पनि सहज हुन्छ, कतिपय घटनामा प्रहरी पनि दोषी भएको आरोप लाग्ने गरेको छ ।’ इप्रकाबाट क्यूआरटी मोटरसाइकलमा परिचालन हुने र गस्तीमा जाने प्रहरीका लागि ‘बडी क्यामरा’ जडान गरिएको हो । मोटरसाइकलमा हिँड्नेको हेलमेट र गस्तीमा हिँड्नेको शरीरमा साना क्यामरा फिट गरिएको प्रहरीले जनाएको छ । प्रविधिको प्रयोगबाट अनुसन्धान छिटो सम्पन्न हुने र पीडितले चाँडै न्याय पाउने प्रहरीको अपेक्षा छ । इप्रकाले यसअघि नै नगरका विभिन्न क्षेत्रमा सिसी क्यामेरा जडान गरिसकेको छ । – रासस

प्रतिक्रियाहरु