‘स्ववियू निर्बाचन स्थगित नहोस ‘

२०७३ माघ ८ गते, शनिबार

काठमाडौं, ८ माघ । विद्यार्थी नेताहरुले आगामी फागुन १४ गतेका लागि तय भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कुनै पनि बहानामा स्थगित गर्न नहुने बताएका छन् । काठमाडौंमा शनिबार गरिएको कार्यक्रममका युवा तथा विद्यार्थी नेताहरुले राष्ट्र बनाउने ठूलो जिम्मेवारी युवा विद्यार्थीको काँधमा रहेको भन्दै अबको राजनीति विकास र प्रगतितर्फ उन्मुख हुनुपर्ने बताए । राजनीतिले सही बाटो लिन नसक्दा मुलुक गहिरो संकटमा फस्दै गएको उनीहरुको भनाइ थियो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय खेलकुद तथा विद्यार्थी कल्याणकारी शाखाका कार्यकारी निर्देशक गंगाबहादुर थापाले निष्पक्ष र धाँधलीलसहित वातावरणमा स्ववियुको चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिए । उनले क्याम्पस तथा विश्वविद्यालयलाई राजनीति गर्ने थलोभन्दा पनि शैक्षिक उपलब्धी हाँसिल गर्ने ठाउँको रुपमा विकास गर्न विद्यार्थी संगठनलाई सुझाव दिए ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचन गराउन विश्वविद्यालय गम्भीर हुनुपर्ने भन्दै निर्वाचनलाई आफूहरुले शैक्षिक क्षेत्रको विकास गर्ने अवसरका रुपमा सदुपयोग गर्ने बताए ।
अनेरास्ववियुकी नेतृ रामकुमारी झाँक्रीले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन निर्धारित मितिमै सम्पन्न गरी सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रममा अखिल क्रान्तिकारीका गंगा तिमल्सिना, तराई मधेस विद्यार्थी फ्रन्टका मनिष यादवलगायतले विद्यार्थी संगठन आपसमा लडेर होइन एकताबद्ध भएर अघिबढ्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रियाहरु