आज ‘क्रिसमस’

२०७३ पुष १० गते, आईतवार

काठमाडौँ, १० पुस । आज इसाई धर्मावलम्वीहरुको चाड मेरी क्रिसमस । नेपालमा पनि इसाई धर्मावलम्वीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाउँदैछन् । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम गरिंदैछन् । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो ।
कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ । उहाँले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । पछिल्ला दिनमा नेपालमा पनि यो धर्म अँगाल्नेहरु बढेका छन् । अहिले नेपालमा आठ हजार पाँच सय गिर्जाघर र ३० लाखभन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको दावी गरिन्छ । यो पर्व मनाउन सरकारले विसं २०६४ पछि डिसेम्बर २५ का दिन सार्वजनिक बिदा दिँदै आएको छ । आजपनि सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ ।
क्रिसमस भन्नेबित्तिकै धेरैको दिमागमा ‘क्रिसमस ट्री’, ‘सान्टा क्लस’, थरीथरीका उपहार, चर्च र येशुको नाममा गरिने प्रार्थना आउने गर्छन् । डिसेम्बर महिना सुरु भएसँगै क्रिसमसको चर्चा हुन थाल्छ । सपिङ मलदेखि चर्चसम्म इसाई धर्मावलम्बीका साथै गैरक्रिस्चियनको चहलपहल बाक्लिन थाल्छ ।
धेरै युवकयुवतीले क्रिसमस आउनु महिनौँ अगाडिदेखि नै योजनासमेत बुन्न थालिसके । क्रिस्चियन धर्मावलम्बीसँगै गैरक्रिस्चियन पनि पर्वमा रमाउन थालेका छन् । नयाँ बानेश्वरकी स्मारिका तुलाधर इसाई नभए पनि क्रिसमसमा नगरकोट घुम्न जाने योजना बनाएको बताउँदै थप्नुहुन्छ, “शनिबार क्रिसमस इभ परेकाले धेरै रमाइलो भएको छ, नभए इभको दिनमा बिदा हँुदैन, कामबाट चाँडो गर्नुपथ्र्यो । ”
तुलाधर भन्नुहुन्छ, ‘‘साथीहरूसँग रमाइलो गर्ने भनेकै त यस्तो मौकामा हो, क्रिसमस मनाउन क्रिस्चियन नै हुनुपर्छ भन्ने छैन ? क्रिसमसको बेला जताततै रमाइलो माहोल हुने भएकाले आफू पनि त्यसप्रति आकर्षित भएको हो । ” तुलाधरजस्तै अहिले धेरै युवा सहरबजारमा भेटिने गर्छन् जो एकै स्वरमा भनिरहेका हुन्छन्, “सबै धर्मलाई समान रूपले लिनुपर्छ, त्यसमा रमाउनुपर्छ । ”
यता वसन्तपुरकी उर्मिला लामिछाने क्रिस्चियन हुन् । क्रिसमसका दिन रमाइलो गर्न आफू विभिन्न तयारीमा जुटिरहेको उहाँ बताउनहुन्छ । झोछेँ प्रेम मण्डलीमा क्रिसमसको तयारीमा खटिरहनुभएका कपिल गुरुङ ‘क्रिसमस डे’का नाममा भइरहेका विकृतिप्रति असन्तुष्टि पोख्नुहुन्छ । “अचेल धेरै युवाले क्रिसमसलाई येशुको सन्देशका रूपमा ग्रहण गरेका छैनन् । उनीहरूले त यसलाई रमाइलो गर्ने पर्वको रूपमा मात्र लिएका छन्”, गुरुङ भन्नुहुन्छ, “येशुको जन्मदिनको खुसियालीमा क्यान्डल बालेर केक काट्नेलगायत क्रियाकलाप सकारात्मक भए पनि अनावश्यक खर्च गरेर ठूलठूला पार्टी गर्नु एक प्रकारको विकृति नै हो । ” क्रिसमसका दिन चर्चमा नाचगान गर्ने, बेलुन उडाउने र रमाइलो गर्ने गरिन्छ । पास्चर डेविड भन्नुुहुन्छ, ‘‘क्रिसमस बुझेकाभन्दा नबुझेकाले बढी मनाउन थालेका छन् । युवापुस्ताका लागि क्रिसमस एक प्रकारको फेसन हुन पुगेको छ । क्रिसमसका नाममा पार्टी राख्ने, जाँडरक्सी खाने कामले समाजमा नकारात्मक प्रभाव पारिरहेको छ । असल र अनुशासित ढङ्गबाट क्रिसमस मनाएमात्र यसले सार्थकता पाउनेछ । ’’
क्रिसमसका उपलक्ष्यमा काठमाडौँको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरालगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ । क्रिसमस ट्रीलगायतको सजावटले बजार र ठूला व्यापारिक स्थलमा आकर्षण थपिने गर्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार