वकिलहरुको सम्मेलन सुरु

२०७३ पुष ८ गते, शुक्रबार

काठमाडौं, ८ पुस । महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको नेपालका सरकारी वकिलहरुको सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।तीनदिने सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको संस्थागत विकास, कानुनी शासनको प्रत्याभूति र मानवअधिकार संरक्षणमा सरकारी वकिलहरुको ठूलो दायित्व हुने बताइन् । उनले संविधान र कानुनले महान्यायाधिवक्ता र सरकारी वकिलहरुलाई प्रदान गरेको भूमिका निर्वाह गर्न महान्यायाधिवक्ताको कार्यालय सधैं दृढ भएर लाग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दलहरुबीच संविधान संशोधनमा देखिएको विवाद अस्थायी भएकाले तत्काल टुंगिएर राजनीतिले गति लिने बताए । उनले सहमतिबाटै संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको प्रष्ट पार्दै संविधान संशोधन र कार्यान्वयन गर्नुपर्ने अभिभारा पूरा गर्न सबै दलले सहयोग गर्नुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले संसद्लाई नै राजनीतिक बहस गर्ने थलो बनाउन विपक्षी दलहरुलाई आग्रहसमेत गरे । संविधानले तोकेको मितिभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले जतिसक्दो चाँडै सहमतिमा आउन विपक्षी दलहरुलाई उनले जोड दिए । सभामुख ओनसरी घर्तीले राजनीतिक मतभेदमा समय खेर नफाल्न दलहरुलाई आग्रह गरिन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीले नागरिकको हक, अधिकार सुनिश्चित गर्न महान्यायाधिवक्ताको कार्यालयले ठूलो भूमिका निर्वाह गर्दै आएको बताइन् । उनले पिछडिएका वर्ग र समुदायका अधिकारलाई स्थापित गर्न सरकारी वकिलहरुलाई सक्रिय भएर लाग्न सुझाव दिइन् ।
कार्यक्रममा विभिन्न पूर्व महान्यायाधीवक्ताहरुलाई सम्मानसमेत गरिएको थियो । तीन दिनसम्म चल्ने सरकारी वकिलहरुको सम्मेलनमा ३० वटा कार्यपत्रमाथि छलफल हुने छ । सम्मेलनमा देशभरका सरकारी वकिलहरु सहभागी छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु