डिआइजी बढुवाविरुद्ध उजुरी

२०७३ पुष ७ गते, बिहीबार

काठमाडौं, ७ पुस । प्रहरी वरिष्ठ उपरीक्षक लब विष्टले गृह मन्त्रालयले गरेको प्रहरी नायव महानिरीक्षक (डिआइजी) बढुवामा अन्याय भएको दाबीसहित लोकसेवा आयोगमा उजुरी दिएका छन् । बढुवा सिफारिसमा आफूलाई अन्याय भएको भन्दै उनले आयोगमा उजुरी दिएका हुन् ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा वरियताक्रममा एक नम्बरमा रहेका वरिष्ठ उपरीक्षक विष्टबाहेक अन्य तीन जनालाई नायव महानिरीक्षकमा १ पुसमा बढुवा सिफारिस गरेको थियो । प्रहरीमा एक जना नायव महानिरीक्षकको पद रिक्त रहे पनि गृह र प्रधान कार्यालयले तीन जनालाई बढुवा सिफारिस गरेको थियो ।
प्रहरी नियमावलीले दिएको अधिकार प्रयोग गर्दै आफूले उजुरी दिएको एसएसपी विष्टले बताए । प्रहरीमा बरियताक्रमअनुसार डिआइजीमा बढुवाका लागि १६ पुष ०६७ मा एसएसपी बढुवा भएका लब विष्ट, रमेशकुमार भट्टराई, गणेश केसी र केदारमानसिंह भण्डारी थिए । गृहले बरियताक्रममा तीन नम्बरमा रहेका गणेश केसीलाई एक नम्बर र त्यसपछि क्रमशः भण्डारी र भट्टराईलाई बढुवा सिफारिस गरेको थियो । प्रहरी नियमावलीअनुसार कार्यसम्पादन, शिक्षा, पदक र प्रहरी महानिरीक्षकले दिने अंक जोडेर केसीले ८१ प्रतिशत र भट्टराईले ७९ प्रतिशत प्राप्त गरी अब्बल ठहर भएका थिए ।
कार्यसम्पादन र संगठनमा व्यावसायिक छबी बनाएका केसीको बढुवाका लागि मन्त्रालय र प्रधान कार्यालय दुबै सहमत रहे पनि बरियतामा पहिलो रहेका विष्टलाई पन्छाएर भट्टराई र भण्डारी बढुवा सिफारिसमा परेका हुन् । प्रहरीमा ५ पुसमा अवकाश भएका हेमन्त मल्ल र केशव अधिकारीको सिटको गणना गर्दै १ गते नै गृहले बढुवा सिफारिस गरेको हो । – कमान्डर पोस्टवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु