सामा—चकेवा पर्व सुरु

२०७३ कार्तिक १७ गते, बुधबार

काठमाडौं, १७ कात्तिक । कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिनदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने सामा—चकेवा पर्वको सुरु भएको छ । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ ।
भाइटिकाका दिन नै मूर्ति बनाउनका लागि माटो ल्याएर राख्ने भएकाले विधिवत रुपमा हिजोदेखि पर्वको शुभारम्भ भएको हो । यो पर्व मैथिलानी र थारु समुदायका महिलाहरुले मनाउने गर्छन । ग्रामीण क्षेत्रमा अझैं पनि पर्वको लोकप्रियता कायम छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रुपमा यो पर्वप्रतिको आकर्षणमा कमी आएको महशुस गर्न थालिएको छ ।
काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ ।
भगवान कृष्णकी सुपुत्रीको नाम सामा थियो । भगवान कृष्णले आफ्नी छोरीलाई ‘चरा’ बन्ने श्राप दिएपछि पुनः मानव योनीमा फर्काउनमा सामाका भाइ साम्बले खेलेको भूमिकाको विषय यस पर्वसँग जोडिएको छ ।
यस पर्वमा सवैभन्दा रोचक भनेको दिदीबहिनीहरुले पर्वको अवधिभर बेलुकीको समयमा दाजुभाइको प्रशंसाका साथै आशीष दिने खालका सामा गीत गाउने गरिन्छ । सोही क्रममा आपूmलाई चाहिएका सरसामानहरु पनि गीतको माध्यमबाट सुनाउने प्रचलन पनि रहेको छ ।
त्यसपछि, कात्तिक पूर्णिमाको मध्यरात्रिमा महिलाहरुले आ–आफ्ना घरबाट गीत गाउँदै चौंवाटोमा भेला भएर पर्वको अन्तिम रुप दिने गर्छन् । सो अवसरमा सवैभन्दा पहिले भाइले सामा फोडेपछि चुगला र बृन्दावन जलाइन्छ । एक अर्कासँग मूर्तिहरु साटासाट गरेर घर फर्कने क्रममा पुनः गीत गाउँदै आँगनमा पुगेर ‘झुम्मरी’ गीत गाएर पर्वको समापन गरिन्छ । यस पर्वमा प्रसादको रुपमा नयाँ धानको चिउरा, दही, मिठाईका साथै नयाँ धानको बाला समेत राख्ने गरिन्छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार