भारतीय राष्ट्रपति नेपाल आउँदा अपनाइने सुरक्षा रणनीति

२०७३ कार्तिक १५ गते, सोमबार

काठमाडौँ, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको सुरक्षा योेजनाका बारेमा परराष्ट्र, रक्षा मन्त्रीसहित उच्च सरकारी अधिकृतले जानकारी लिनुभएको छ । भारतीय राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षा सचिव श्रीधर सापकोटा, परराष्ट्र सचिव शङ्करदास वैरागीले सुरक्षा योजनाका बारेमा नेपाली सेनासित आज जानकारी लिनुभएको छ ।
सो अवसरमा प्रधानसेनापती राजेन्द्र क्षत्री तथा बालाध्यक्ष बलदेव महतको समेत उपस्थिति रहेको थियो ।
सो अवसरमा मन्त्री खाँणले नेपाली सेनाले राष्ट्रपति मुखर्जीको आसन्न नेपालको राजकीय भ्रमणका क्रममा उच्च सतर्कताका साथ सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभएको थियो ।
राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई कात्तिक १७ गते काठमाडौँमा स्वागत गर्नुहुनेछ ।
सोही दिन राष्ट्रपति भण्डारीसित भारतीय राष्ट्रपति मुखर्जीले शीतल निवासमा भेटवार्ता गर्नुहुनेछ भने उहाँको सम्मानमा राष्ट्रपति भण्डारीले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रायले जनाएको छ ।
त्यसैगरी राष्ट्रपति मुखर्जी नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।
भ्रमणको दोस्रो दिन भारतका राष्ट्रपतिले कात्तिक १८ गते पशुपतिनाथको पूजाअर्चना गर्नुहुने छ भने सोही दिन उहाँलाई काठमाडौँ विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतका राष्ट्रपति आफ्नो सम्मानमा काठमाडौँ महानगरपालिकाले आयोजित नागरिक अभिनन्दन समारोहमा सहभागी हुनुहुनेछ । उहाँले नेपाल–भारत नीति अनुसन्धान प्रतिष्ठानले आयोजना गर्ने कार्यशालामा भाषण दिनुहुनेछ ।
राष्ट्रपति मुखर्जी यहाँ रहँदा राजनीतिक दलका नेताहरुले उहाँसँग शिष्टाचार भेट गर्नुहुनेछ । यसक्रममा राष्ट्रपति मुखर्जीसित नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र मधेसवादी दलका शीर्ष नेतृत्वले शिष्टाचार भेटसमेत गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतका राष्ट्रपतिले कात्तिक १९ गते जनकपुरको भ्रमण गरी त्यहाँस्थित जानकी मन्दिरमा पूजाअर्चना गर्नुहुने तथा उहाँको सम्मानमा नागरिक स्वागत कार्यक्रम आयोजना हुनेछ । सोही दिन राष्ट्रपति मुखर्जी पोखराको भ्रमणमा पनि जानु हुनेछ ।
भारतका राष्ट्रपतिबाट १८ वर्षपछि नेपालको भ्रमण हुन लागेको हो । यसअघि भारतका राष्ट्रपति के आर नारायणन नेपाल भ्रमणमा आउनुभएको थियो ।-रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार

किसानका लागि आइपिएम पाठशाला

२०८१ बैशाख १९ गते, बुधबार