८० रुपैयां महशुल तिर्न ६ सयभन्दा बढी खर्च

२०७३ कार्तिक ५ गते, शुक्रबार

काठमाण्डौ, ५ कात्तिक । पाल्पाका ग्रामिण भेगका सर्वसाधारण ८० रुपैयाँ विद्युत् महशुल भुक्तानी गर्न ६ सय रुपैयाँभन्दा बढी खर्च गरेर सदरमुकाम तानसेन आउन बाध्य भएका छन् । द्वन्द्वकालमा विस्थापित ग्रामिण विद्युत् महशुल काउण्टर अझै पुनःस्थापना नहुँदा उपभोक्ता सदरमुकाम धाउन बाध्य बनेका हुन् ।
द्वन्द्वकालमा विस्थापित भएका बैंक, प्रहरी चौकी र सरकारी कार्यालयहरु पुनः ग्रामिण भेगमा स्थापित भए पनि नेपाल विद्युत् प्राधिकरणका महशुल काउण्टर भने अझै पुनः स्थापना हुन सकेको छैन । सदरमुकामभन्दा निकै टाढा बस्नेहरु पनि ८० रुपैयाँ भुक्तानी गर्न निकै ठूलो खर्च गरेर आउन बाध्य छन् । गाउँगाउँमा काउण्टर राख्न क्षेत्र र केन्द्रसँग अनुमति मागे पनि स्विकृत नभएको नेपाल विद्युत प्राधिकरण पाल्पाका प्रमुख कपिलराज पाण्डेले बताए । पाल्पाका २९ हजार उपभोक्ताले नेपाल विद्युत् प्राधिकरणको सेवा लिँदै आएका छन् ।

प्रतिक्रियाहरु