मेडिकल कलेजको सिट थपघट गर्न आइओएमको सिफारिस

२०७३ भाद्र २८ गते, मंगलवार

काठमाडौ, २८ भदौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आगामी वर्षका लागि मातहतका क्याम्पसले एमबिबिएस र बिडिएसमा भर्ना लिने विद्यार्थी सिट संख्या सिफारिस गर्ने निर्णय गरेको छ।
आइओएमले गरेको सो निर्णय नेपाल मेडिकल काउन्सिलको बोर्डले छलफल गरी स्वीकृत गरेपछि लागू हुनेछ।
फ्याकल्टी बोर्डको सोमबारको बैठकले एमबिबिएसतर्फ अधिकतम एक सय १५ सिट दिने गरी सिफारिस गर्ने निर्णय गरेको हो । आइओएम स्रोतका अनुसार अघिल्लो वर्ष एक सय ३५ सिट पाएका कलेजको सिट संख्या घटाएर यस वर्ष अधिकतम एक सय १५ मा झारिएको छ । यसैगरी, बिडिएस (दन्त चिकित्सा)तर्फ अधिकतम ७० सिट संख्या सिफारिस गर्ने निर्णय गरिएको छ।
सिफारिस भएका मेडिकल कलेजको मेडिकल काउन्सिलले पुन: अनुगमन गर्नेछ । मेडिकल काउन्सिलले आइओएमले सिफारिस गरेको सिट संख्यामा आफूले अनुगमन गरेको आधारमा केही सामान्य हेरफेर गर्न सक्नेछ।
आइओएमले सिफारिस गरेको सिट संख्या प्राय: काउन्सिलले परिर्वतन गर्ने चलन छैन । ‘सामान्य एक–दुई सिट घटबढ हुन सक्छ,’ बोर्डका एक सदस्यले भने, ‘फ्याकल्टी बोर्डले पास गरेको कुरा काउन्सिलले सामान्य मात्र हेरफेर गर्ने गरेको छ ।’ – नयाँ पत्रिका दैनिकवाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु