अञ्चल अस्पतालमा विशेषज्ञ डाक्टरको अभाब

२०७३ भाद्र २७ गते, सोमबार

काठमाडौँ, २७ भदौ । सरकारले दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर नपठाउँदा मेची अञ्चल अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । अञ्चल अस्पतालमा १९ जना विशेषज्ञको दरबन्दी भएपनि छजना मात्र विशेषज्ञ कार्यरत हुँदा सेवाग्राहीलाई सेवा दिन समस्या भएको हो ।
यतिबेला बालरोग विशेषज्ञको तीनजनाको दरबन्दीमा एकजना छन् । स्त्रीरोगतर्फ तीनजना हुनुपर्नेमा एकजना, फिजिसियनमा पनि तीनजनाको दरबन्दीमा दुईजना विशेषज्ञ डाक्टर छन् ।
अस्पतालमा भर्खरै बेहोस पारेर गरिने शल्यक्रिया सेवा सुरु गरेको छ तर त्यहाँ पनि दुई दरबन्दीमध्ये एकजना मात्र डाक्टर हुँदा समस्या भएको अस्पतालका सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरले बताए ।
डा पीताम्बरका अनुसार अस्पतालमा दरबन्दीअनुसारका विशेषज्ञ डाक्टर कम भए पनि उपचार सेवा भरपर्दाे नै रहेको छ । “हामी सेवामा प्रतिबद्ध छाँै”, उनले भने – “अहिले हामीसँग दक्ष जनशक्तिको अभाव छ यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने काम भइरहेको छ ।” उनले दरबन्दीअनुसारका डाक्टर नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताए ।
अधिकांश गम्भीर प्रकृतिका रोगको उपचार अहिले मेची अस्पतालमै सफल भइरहेको छ । एक वर्षको अवधिमा सो अस्पतालबाट ६५ हजारभन्दा बढी बिरामीले उपचार सेवा लिएका छन् । आव २०७२/७३ मा ओपिडीमा ४७ हजार ५६३, इमर्जेन्सीमा ११ हजार ८४३ र अन्तरङ्ग विभागबाट पाँच हजार ८५४ जनाको सफल उपचार भएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु