बाहिरी चक्रपथको काम छिट्टै

२०७३ श्रावण २० गते, बिहीबार

काठमाडौं, २० साउन । आठ लेनको बाहिरी चक्रपथ निर्माण गर्ने क्रममा चोभार, गाम्चा र सतुङ्गलमा ६.६ किलोमिटर ट्र्याक खोल्ने काम छिटै थालिने भएको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण गठन भएको ११ वर्ष बितिसक्दा पनि कीर्तिपुरबासीको अवरोधले काम हुन सकेको थिएन । प्राधिकरणले ३५ दिने सूचना जारी गरी कीर्तिपुर क्षेत्रबाट आएका दुईवटा निवेदनमा उचित क्षतिपूर्तिको माग राखिएकाले उक्त काम सफलतापूर्वक सुरु हुने सङ्केत मिलेको हो ।
७१.१० किलोमिटर लामो बाहिरी चक्रपथ निर्माण गर्न नहुने भन्दै पक्ष र विपक्षमा ९६ वटा निवेदन प्राधिकरणमा दर्ता भएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले जानकारी दिनुभयो । ५० मिटरको फराकिलो बाहिरी चक्रपथमा पर्ने जग्गाधनीहरूलाई पनि २५० मिटरका दुवैतर्फका जग्गा एकीकरण गरेर जग्गानै प्रदान गरिने भएपछि बाहिरी चक्रपथ निर्माण सहज भएको हो ।
पचास मिटरको ठूलो सडकमा जग्गा नै प्राप्त गर्न चाहने जग्गाधनीलाई चालीसदेखि पचास प्रतिशत जग्गा दिइने र २५० मिटरभित्र बन्ने भगिनी सहर अर्थात् ‘सिस्टर सिटी’मा बन्ने सानो सडक छेउका जग्गाधनीले ७५ प्रतिशतसम्म जग्गा पाउनेछन् ।
अहिले बनिसकेका भवनलगायतका संरचना हटाउन पनि प्राधिकरणले उचित क्षतिपूर्ति दिने, प्लट मिलान गर्ने, जग्गा किनबेच गर्न दिने भएकाले पनि बाहिरी चक्रपथ निर्माण हुने क्षेत्रका जग्गाधनीले विरोध नगरेको दाबी उहाँले गर्नुभयो ।
‘पचास मिटरको सडक र सिस्टर सिटी निर्माण हुने जग्गामा घरनिर्माण र जग्गा कित्ताकाट गर्ने काम भने रोकेका छौँ’, तिवारी बताउनुहुन्छ । उहाँका अनुसार ट्र्याक खोल्ने र वाल निर्माण गर्न प्रतिकिलोमिटर १० करोड लाग्ने अनुमान छ ।
सिस्टर सिटीको पूर्वाधारमा समेत सरकारी लगानी हुने भएकाले पनि जग्गाधनीहरू उत्साहित भएको उहाँको दाबी छ ।
गतसालको महाभूकम्पपछि सरकारले ल्याएको सडक मापदण्ड र भवन आचारसंहिताको कारणले उपत्यकाबासी सचेत भएकाले पनि बाहिरी चक्रपथ निर्माण गर्न सहज भएको हो ।
करिब चार किलोमिटर चक्रपथ बन्ने कीर्तिपुर नगरपालिकाका स्थानीयबासीले अहिले चक्रपथ निर्माण गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सहयोग गरेकाले निर्माण सम्भव भएको कीर्तिपुर नगरपालिकाका प्रशासन प्रमुख सुचिन्द्र महर्जन बताउनुहुन्छ । कीर्तिपुर नगरपालिकाले चक्रपथ निर्माण गर्नका लागि सहयोगी भूमिकाको लागि जग्गाधनीलाई विशेष आग्रह गरेकोे उहाँले बताउनुभयो ।
कीर्तिपुरस्थित पाँगा, इन्चुटोलमा पर्ने बाहिरी चक्रपथमा पुख्र्यौली जग्गा पर्ने भए पनि विकास निर्माणमा समर्थन जनाएको पत्रकार सचिरनन्द महर्जनले बताउनुभयो ।
बाहिरी चक्रपथको चोभार र सतुङ्गल क्षेत्रको ६.६ किलोमिटरसहित काठमाडौँ जिल्लामा ३५.८ किलोमिटर, ललितपुर जिल्लामा १५.८० किलोमिटर र भक्तपुर जिल्लामा २१.०५ किलोमिटर पाँच वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको छ
बाहिरी चक्रपथले तीन जिल्लासहित एक दर्जनभन्दा बढी नगरपालिका र केही गाविसलाई छुनेछ । ललितपुर र भक्तपुरका सबै नगरपालिकालाई छोए पनि काठमाडौँ नगरपालिकाको दक्षिणकाली, फर्पिङ नगरपालिकालाई छुदैन । बाहिरी चक्रपथले नछोएको दक्षिणकाली फर्पिङ नगरपालिका भएर काठमाडौँ प्रवेश गर्ने निजगढ–काठमाडौँ फास्ट ट्र्याकलाई कार्यविनायक नगरपालिकाको खोकनामा जोडिन्छ । – उपेश महर्जन, गोरखापत्र

प्रतिक्रियाहरु