सुकुम्वासीमाथिको ज्यादती बिरुद्ध देशव्यापी चक्काजाम कार्यक्रम सम्पन्न

२०७३ श्रावण २ गते, आईतवार

काठमाडौं, २ साउन । नेकपा माओवादीले सुकुम्वासीमाथिको ज्यादती बिरुद्ध आज बिहान ९ बजेदेखि ११बजेसम्म देशव्यापी चक्काजाम गरेको छ । माओवादीले सरकारले सर्लाहीको सागरनाथ सुकुम्वासी बस्तीमाथि बर्बर दमन र सुकुम्वासीकोे सम्पूर्ण सम्पति नष्ट गरेको भन्दै चक्का जाम गरेको हो । पूर्वघोषित कार्यअनुसार चक्का जाममा उत्रेका माओवादी नेता तथा कार्यकर्तालाई कलंकी, रत्नपार्क, चावहिल, बालाजु लगायत स्थानबाट प्रहरीले दमनपश्चात गिरफ्तार नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड बताए । प्रवक्ता प्रकाण्डका अनुसार कलंकीबाट अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्र कुमालसहित ५ पाँचजनालाई प्रहरीले १० बजे गिरफ्तार गरेको छ ।
त्यसैगरी बालाजु चोकबाट चक्का जाम कार्यक्रममा रहेका बेला अखिल क्रान्तिकारीका नेता एवं उपत्यका विशेष क्षेत्रीय समन्वय समिति संयोजकसहित ९ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा मिनबहादुर चलाउने, सुरेस सुवेदी, अनिल खड्का, गोपाल परियार, रबि गुरुङ, केदार थापा, बसन्त भेटवाल, अर्जुन गौतम रहेका छन् । उनीहरुलाई बालाजु चौकीमा राखिएको बुझिएको छ ।
त्यस्तै चकाजामका सहभागी हुने क्रममा रत्नपार्कबाट १० जना र चावहिलबाट ४ जना पार्टीका नेता तथा कार्यकर्तालाई दमनपछि गिरफ्तार गरिएको छ । रत्नपार्कबाट गिरफ्तार पर्नेहरुमा राजु कार्की , रत्न मगर , पूर्ण श्रेष्ठ , हीरा शाही ,दुर्गा अधिकारी ,झनक श्रेष्ठ , प्रकाश बस्नेत , गणेश बोहरा ,ज्ञानबहादुर खड्का र बिजय भण्डारीलगायत रहेको बुझिएको छ ।
गिरफ्तारमा परेकाहरुले राज्यले आतंक मच्चाएको बताउदै जनजीविका र राष्ट्रियताको पक्षमा गरिएको आन्दोलनमा राज्य आतंक तुरुन्त बन्द गर्न समेत माग गरेका छन् ।
यसैबीच , माओवादीका प्रवक्ता प्रकाण्डले गिरफ्तार नेता कार्यकर्तालाई बिना सर्त तुरुन्त रिहा गर्न माग गरेका छन् । पार्टीको पूर्वघोषित कार्यक्रमका सिलसिलामा सरकारले दमनको नीति अपनाएर संघर्षलाई झनै पेचिलो बनाउने काम गरेको प्रवक्ता प्रकाण्डले बताए ।

प्रतिक्रियाहरु