पोलिक्लिनिकहरुको मनपरी

२०७३ असार २४ गते, शुक्रबार

काठमाडौं, २४ असार । आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग नेतृत्वको टोलीले विहीबार नयाँबजार, बालाजु, माछापोखरी, गोंगबु, धापासीलगायतका स्थानमा स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा छापा मारेको छ । उक्त संयुक्त टोलीले गरेको अनुगमनकाक्रममा स्वास्थ्य संस्था तथा औषधि पसलहरुमा व्यापक अनियमितता भेटिएको छ । २०६३ सालमा एक वर्षको लागि पोलिक्लिनिक सन्चालनको अस्थायी स्वीकृति लिएको संस्थाले त्यसयता कुनै स्वीकृति नलिइ अहिलेसम्म सन्चालन गरेको पाइएसँगै सरकारको अनुगमन टोलीले बालाजु स्वास्थ्य क्लिनिकलाई ‘सिल’ गरिदिएको छ । यहाँ आवश्यक न्यूनतम् भौतिक पूर्वाधारबिना हावा छिर्ने वातावरण शुद्ध नभएको अँध्यारो कोठामा बिरामीको चेकजाँच गर्ने गरिएको पाइयो । साथै, १६ रुपैयाँ पर्ने टीटी औषधिलाई ३५ रुपैयाँमा बेच्ने गरेको पनि पाइएको छ । सरस्वती बुढाथोकीको नाममा फार्मेसी दर्ता गरिएको यो पोलिक्लिनिकमा सन्चालक भने अर्कै व्यक्ति थिए ।
यस्तै, क्लिनिकमा उपस्थित हुने भनेर उल्लेख गरिएका डाक्टरहरुको विवरण माग्दा पनि सन्चालकले उपलब्ध गराउन सकेनन् ।
यसैगरी, गाविस र कम्पनी रजिष्टार कार्यालयकोमात्रै स्वीकृति लिएर सन्चालन गरेको आराधना हेल्थ केयर सेन्टर पनि अनुगमन टोलीले सिल गरेको छ ।
कुनै स्वास्थ्य क्षेत्रसँग सम्वन्धित निकायको इजाजत नलिएको पाइएपछि सिलबन्दी गरिएको हो । यहाँ त्यही १६ रुपैयाँ पर्ने टीटीको औषधिलाई ५० रुपैयाँसम्म असुल्ने गरेको पाइयो ।
टोलीले क्लिनिकमा सिलबन्दी गर्दै कागजातसहित तीन दिनभित्रमा आपूर्ति व्यवस्था विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
यसैक्रममा धापासीस्थित ग्रान्डी अस्पतालअगाडि सन्चालित शुभदीप फार्मेसीमा भने डाक्टरको सिफारिसबिना बिक्री गर्न नपाइने औषधि बिक्री गरिएको पाइयो । यस्तो औषधि बिक्री गर्दा व्यवस्थितरुपमा ‘रेकर्ड’ राख्नुपर्नेमा फार्मेसीमा कुनै रेकर्ड राखिएको पाइएन ।
यहाँ शुभदीप फार्मेसीको नाममा दर्ता गरेर रन फार्मेसीको नाममा बिल काटिएको पनि पाइयो । सो फार्मेसी पनि सरकारी टोलीले सिल गरिदिएको छ । विभागको नेतृत्वमा मंगलबारदेखि विशेष अनुगमन हुँदै आएको छ ।

प्रतिक्रियाहरु