सप्तरीमा वार्षिक १३ करोडको पान बिक्री

२०७३ जेष्ठ २८ गते, शुक्रबार

काठमाडौँ, २८ जेठ । सप्तरीका २८ प्रतिशत जनता अझै गरिबीको रेखामुनी छन् । कैयौं खुला आकाशमुनी बस्न बाध्य छन् । कतिपयको चुनो दुई–तीन छाकसम्म बल्दैन । तर यही जिल्लाका बासिन्दाले पान खानका लागि वार्षिक १३ करोड रुपैयाँ खर्चन्छन् । राजविराजमा बन्धुलाल दास र रोहितचन्द्र दास पानका थोक विक्रेता हुन् । बिहानैदेखि राजविराज हटियाका उनीहरुको पसलमा पात किन्न पानपसलेको घुइँचो हुन्छ ।
२० वर्षभन्दा पहिलेदेखि पातको थोक व्यापार गर्ने बन्धुलाल दासका अनुसार जिल्लामा प्रत्येक साता १५ टोकरी पात खपत हुन्छ, जसमा थोक बिक्री केन्द्रबाट १२ टोकरी र सीमावर्ती क्षेत्रबाट ३ टोकरी बेचिन्छ । एउटा टोकरीमा १२ हजार पात हुन्छन् ।
१२ हजार पत्ता रहने १५ टोकरी खपतको हिसाबले सातामा १ लाख ८० हजार पान खपत हुन्छ । सर्वसाधारणले खाने पान सबभन्दा कम १५ रुपैयाँ पर्छ । सातामा १ लाख ८० हजार पात पानको बिक्रीलाई सबभन्दा कम दर १५ रुपैयाँका दरले मात्र हिसाब गर्ने हो भने पनि २७ लाख रुपैयाँको कारोबार देखिन्छ । यस हिसाबले महिनामा १ करोड ८ लाख रुपैयाँ र वर्षमा १२ करोड ९६ लाख रुपैयाँ बराबरको पान बिक्री हुने देखिन्छ । –कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु