वैदेशिक रोजगार बचतपत्र निष्कासन

२०७३ जेष्ठ २४ गते, सोमबार

काठमाडौँ, २४ जेठ । नेपाल राष्ट्र बैंकले कुल नौ प्रतिशत ब्याज दिनेगरी वैदेशिक रोजगार बचतपत्र २०७८ ‘क’ निष्कासन गरेको छ । बैंकले रु ३३ करोड ७९ लाख १५ हजार मूल्य बराबरको बचतपत्र निष्कासन गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली र गैरआवासीय नेपालीलाई लक्षित गरेको हो । बैंकका अनुसार ब्याज भुक्तानी अर्धवार्षिक रुपमा प्रदान गरिनेछ । घटीमा रु पाँच हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाइ रु पाँच हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने प्रावधान राखिएको छ ।
वैदेशिक रोजगारीमा रहेका वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा परिवारको सदस्यका नाममा उक्त बचतपत्र निष्कासन गरिएको हो । परिवारका बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीले बचतपत्र खरिद गर्न सक्नेछन् ।
बचतपत्र धितो राखी कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन र दिन सकिने प्रावधान पनि राखिएको छ । बिक्री खुला सोमबारसम्म रहने, निष्कासन असार २९ गते र साँवा भुक्तानी २०७८ साल असार २९ गतेसम्म रहने राष्ट्र बैंकले जनाएको छ ।
बैंकले प्रत्येक छ÷छ महिनामा ब्याज खरिदकर्ता वा आफैँले इच्छाएको व्यक्तिमार्फत भुक्तानी लिन सक्नेछन् भने बैंक खातामा जम्मा हुने व्यवस्थासमेत गरिएको छ । आवेदनकर्ताले राहदानी, कार्यरत मुलुकको प्रवेशाज्ञा, कार्यरत कम्पनीको परिचयपत्र, दुईप्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणका रुपमा विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर संलग्न गर्नुपर्ने प्रावधान राखिएको छ ।
त्यस्तै, परिवारका सदस्यका नाममा खरिद गर्ने भए परिवारका सदस्यको नागरिकताको प्रतिलिपि समावेश गर्नुपर्नेछ । राष्ट्र बैंकले यसअघि गत वर्ष चैत ७ गते पनि ‘वैदेशिक रोजगार बचतपत्र’ निष्कासन गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार