सार्थक पार्टी एकताको खाँचो -पुष्पगोपाल श्रेष्ठ

२०७३ बैशाख ६ गते, सोमबार

हाम्रो देश नेपालको राष्ट्रिय स्वाधीनतामाथी मडारिरहेको यो संकटबाट मुक्तपारि स्वतन्त्र सार्वभमसत्ता भूअखण्डतालाई पूर्णतया सुरक्षा कायम गर्दै जनगणतन्त्रको प्रत्याभूतिसँगै जन–जीविकाको सहज र सुलभ कायम् गर्न, क्रान्तिकारी कम्युनिष्ट एकता टडकारो खाँचो छ । यसो भनेर फेरि सैद्धान्तिक आधारबिना सोलोडोलो एकता कायम गर्नु ठीक कुरो हैन । त्यसो गर्नु पूर्णतया गलत कुरो हो । सर्वप्रथम क्रान्तिकारी कम्युनिष्टहरुले अत्यन्तै गम्भीर भएर सोच्नु पर्ने कुरो हो, हामी कसको पक्षमा उभिने ? हामी देशको कूल जनसंख्याको ९५ प्रतिशत ओगट्ने व्यापक जनताको पक्षमा उभिने ? कि देशको कूल जनसंख्याको चार या पाँच प्रतिशत ओगट्ने जमिनदार, धनी किसान, प्रतिक्रान्तिकारी तत्व, गलत तत्व र दक्षिणपन्थिहरुको पक्षमा उभिने ? पक्कै पनि हामी व्यापक जनता कै पक्षमा उभिनुपर्छ, कुनैपनि हालतमा जन–विरोधिहरुको पक्षमा उभिनुहुँदैन । यही हो माक्र्सवाद–लेनिनवाद–माओवादको आधारभूत प्रश्न । अाँखा चिम्लेर जो–कोहिसँग पनि हतारिएर पहिला पार्टी एकता गरी हाल्ने पछि रहल–पहल कमी–कमजोरीहरु सचिंदै सच्याउँदै जाने भन्ने जस्तो मुख्र्याइपूर्ण सोच बोकेर हिंड्नु सच्चा मालेमावादीहरुको निमित्त शोभनीय थहरिन्न । यस्तो सोचाइत पूर्णतया गएर मालेमावादी चिन्तन हो र दक्षिणपन्थि अवसरवादकै प्रतिविम्व हो भन्दा अत्युक्ति नहोला ।
क्रान्तिकारी कम्युनिष्ट एकताको माने अवश्य यो हैन कि एकताको नाममा जे जसरी हुन्छ भिड–भाडलाई जम्मापार्नु । यस्तो भिडभाडको धोका खाएर, ठूलठूला कठिनाइहरुसँग पौंठेजोरी खेलेर हामीले आपूmलाई अझ बढी दृढ बनायौं, हामीले अनुभवहरु आर्जन ग¥यौं, हामीले ती अतितका गलत लाइन तथा आफ्ना कमी–कमजोरिहरुलाई सच्याएर, त्यतिकै बीच बाटोमै अलपत्रपारी बेवारिसे ढङ्गले छोडेको नयाँ जनवादी क्रान्तिलाई सम्हालेर आफ्नो निर्धारित गन्तव्यतिर लम्कने जोड–बलमा निश्चितैरुपले कमजोर देखिन आएको छ । यसको माने अवश्य पनि यो हैन कि शक्ति संचय र सुदृढ गर्नु भनेर वर्गीय एवम् राष्ट्रिय आत्मा समर्पणगरी बिलकुल गलत लाइन पक्रेर गलत ढङ्गले हिंडिरहेका जो कोहिसँग एकता कायम गर्न पुग्दैमा शक्ति संचय र सुदृढ हुनेहैन । बरु यसले त बचेखुचेका क्रान्तिकारीहरुको संगठित शक्तिलाई पनि नष्ट ध्वस्त पारिदिन्छ । तसर्थ यस मामलामा हामी बढी सचेतभई देशमा टुट्फुट रहिआएका सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरु बीच मालेमावादी सैद्धान्तिक कार्य दिशा र कार्यनीतिक वेषभित्र रहेर पार्टी एकताको निमित्त जोडबल गर्नु नितान्त जरुरी छ ।
क्रान्तिकारीहरुको शक्ति व्यक्ति विशेषको संख्यामा हैन, हो त माक्र्सवादी–लेनिनवादी–माआवादी सिद्धान्तमा दरोगरी दृढसंकल्पित रही आएका यद्यपि त्यो न्यून संख्या मै किन नहोस, सैद्धान्तिक विचलनमा परेका जतिसुकै ठूलो भिडको दाँजोमा सिद्धान्तमा खारिएका एवं सिद्धानतप्रति दृढ संकल्पित संख्याको हिसाबले थोरै तर त्यो वैचारिक संगठन अत्यन्तै शक्तिशाली हुन्छन् भन्ने कुरो क्रान्तिकारीहरुलाई भनिरहनु नपर्ला । क्रान्तिकारीहरुको चाहना भनेको हरहमेसा सिद्धान्तप्रति दृढ संकल्पित संगठनात्मक संख्याको वृढि हो, मात्र व्यक्तिहरुको संख्यामा वृढि हैन ।
यतिखेर हामी घनीभूत रुपले क्रान्तिकारी पार्टी एकता अभियानमा व्यस्तरहि आएका छौं, जसका लागि जनवादी विधि अबलम्वन गर्दै अगाडि बढदै छौं । यसो गर्दै गर्दा चाहे जो सुकै होस, गल्ती गर्नेहरुलाई आफ्नो गल्ती जान्न र त्यसलाई सच्याउन, सबै कुरा ठीकठाक गर्न प्रोत्साहित गर्दै र हरेकले उसलाई गल्तीबाट सचिन्न र सच्याउन मद्दत गर्नैपर्छ । यसरी एकताको इच्छालाई सबभन्दा पहिले अगाडि राखी, आलोचना र संघर्षको प्रक्रियाबाट अघि बढदै, सही र गलत छुट्याई नयाँ आधारमा नयाँ एकता कायम गरौं ।ं यसो भनेर फेरि सैद्धान्तिक कार्यदिशा र कार्यनीति जस्ता अत्यन्तै महत्वपूर्ण कुनैपनि विषयवस्तुहरुसँगै बसेर पछि मिलाउँदै जाउँ भन्ने सोचका साथ हतारिएर पार्टी एकता गर्नु सर्वथा गलतनै हुन्छ । यस्तो उधारो परम्पराले युगको आवश्यकतालाई कुनै हालतमा पूरा गर्न सकिन्न । आजको काम भोलिलाई नपन्छाई, बुद्धिमतापूर्ण ढङ्गले आजको काम आजै गरिभ्याउने जोश र जाँगरलाई उजागर गरी एकता प्रकृयालाई अबलम्वन गरी एकता कायम हुन र गर्न सकेमा मात्र पार्टी एकताको औचित्य रहन्छ । अन्यथा औचित्यहिन हुने मात्र हैन आत्माघाती हुने निश्चित छ ।
आज हाम्रो देश नेपालभित्र मात्र होइन यो अन्तरराष्ट्रिय स्तरमा पनि साँचो हो । विश्वका सारा देशका व्यापक जनता, जसले विश्वको कूल जनसंख्याको ९५ प्रतिशत ओगट् छन्, उनीहरु निश्चित्त रुपमा क्रान्ति चाहन्छन्, माक्र्सवाद–लेनिनवाद–माओवादको समर्थन गर्छन् संशोधनवाद र नव–संशोधनवादको समर्थन गर्दैनन् । गरे पनि केहीले केही समयका लागि संशोधनवादको समर्थन गर्न सक्लान्, तर पछि उनीहरुको चालढाल र कुनियत बुझेपछि अन्तिममा उनीहरुले त्यसलाई परित्याग नगरी बस्न सक्दैन, परित्याग गरी हाल्छन् । यसरी उनीहरु क्रमस जागरुक हुन्छन् र साम्राज्यवाद तथा विभिन्न राष्ट्रका प्रतिक्रियावाद तथा खराब तत्वलाई लखेट्ने छन्, उनीहरुले संशोधनवादलाई थिलीथिली पार्नेछन् ।
कम्युनिष्ट पार्टी सर्वहारावर्गको अग्रदस्ता हो । सर्वहारावर्गले ती सबै वर्ग र तप्काका मान्छेलाई एकगठ बनाउँछ, ज–जस्ले त्यसलाई सकार्छ, समर्थन गर्छ, नयाँ जनवादी क्रान्ति र नयाँ जनवादी व्यवस्था निर्माणमा सहभागी हुन्छ तर प्रतिक्रियावादी वर्गहरु र घरानीया भनिएका ती खराब तत्व र पूराना शक्तिहरुमाथि भने अधिनायकवाद लाद्छ । तिनीहरुमाथि अधिनायकवाद लादनु कुनै अनौठो र गलत त हुँदैहोइन । यिनीहरु जो देश तथा विश्वका कूल जनसंख्याको ४, ५ प्रतिशत छन्ले कूल जनसंख्याको ९५ प्रतिशत ओगतिरहेका व्यापक जनतामाथि सदियौं देखि अधिनायकवाद लाद्दै आइरहेका छन् र त्यसैको निरन्तरता यथावत काय्मनै छ । यद्यपि देशमा कायम रहि आएको राजतन्त्र बहिरगमन भइसकेको छ, तापनिसामन्ति जमिनदार तथा बुर्जुवाहरुको आर्थिक आधार भत्काईसकेको छैन र उनीहरुको थाँतबाट जस्ताको तस्तै काय्म छ ।
ऐतिहासिक दस वर्षीय जनयुद्धको बलवुतामा उठेको ०६२, ०६३ को दोश्रो जनआन्दोलनले केही राजनीतिक नेतृत्वमा मात्र हेरफेर ग¥यो तर पुरानो नोकरशाही राज्यव्यवस्था, पुरानो सेना, पुरानो अदालत, पुरानो जमानामा जन्मे हुर्केका र प्रतिक्रियावादी (तानाशाही) सरकारको सेवामा कपाल फुलाएका न्यायाधीशहरु, दलाल तथा प्रतिक्रियावादी राजनीतिक नेताहरु जस्ता यसका सबै आधारहरुलाई चाहिं जस्ताको तस्तै छोडेको थियो ।
देशभित्र रहेका ती तमाम् जन–विरोधीहरु एवंम् जमिन्दार, बुर्जुवाहरु, दलाल पुँजिपतिहरु तथा साम्राज्यवाद र भारतीय विस्तारवादीहरुसित जुध्न, सच्चा क्रान्तिकारी कम्युनिष्टहरुको एकता अनिवार्य शर्त हुन आएको छ । यसो भनेर फेरि एकतामा जानुको नाममा आफ्नै पार्टीभित्रको एकता भङ्ग गरेर अरुसंगको एकतामा जोर–बल गर्नु कुनै मानेमा पनि युक्तिसंगत ठहरिन्न । त्यसमाथि माओवादी धाराका पार्टीहरुको बीचको एकतामा जतिविलम्व देखिन्छ, उतिनै प्रतिक्रियावादीहरुको चलखेल बढदै जाने खतरा छ भन्ने हाउगुजिको कारण हतारिएर अत्यावश्यक सैद्धान्तिक चाँजो–पाँजो नमिलाई पार्टी एकता कायम गर्दै जानुले त झनै ती प्रतिकृयावादीहरु एवम् विदेशीहरुको चलखेललाई रातो कार्पेट बिच्छाई स्वागत गर्न पूmलको गुच्छा लिएर स्वागत द्वारमा उभिन पुगेसरह हुने कुरामा, पार्टी एकताको चटारोमा लाग्नुभएका क्रान्तिकारी कामरेडहरुले ध्यान केन्दि«तगरी उपयुक्त उपायको खोजि गर्न सके, युगको माग अनुसार पार्टी एकताको औचित्यता कायम् हुनेमा दुईमत हुन सक्दैन ।
हामी ध्वंश होइन सृजनात्मक एकता चाहन्छौं । सृजनात्मक एकता भन्नुको अर्थ वर्गीय दृष्टिकोणको आधारमा सृजनात्मक क्रान्तिकारी पार्टी एवम् जन एकता चाहन्छौं । हामीले खोजेको एकताको नाउँमा भाँडभैलोयुक्त एकता होइन । हो त विशुद्ध एकता हो । एकताको निमित्त अनुशासन नितान्त जरुरी छ । अनुशासनबिनाको एकताले केही पनि गर्न सकिंदैनन् । पार्टी एकताकै सन्दर्भमा कुरा गर्दा आफ्नो मातृभूमि विरुद्ध विदेशीहरुको पछि लागेर षडयन्त्र गर्नेहरु जो कोहीसंग पनि पार्टी एकताको प्रक्रिया अपनाउने जस्तो भूल कदापि गर्नुहुन्न । यस्तो भूल गर्न र हुनजानुबाट सदा टाढारहन सचेतता अपनाउनु नै पर्छ ।
वर्गीय समाजमा सामाजिक चेतनाका निश्चित रुपहरु हुन्छन् जो सामाजिक, राजनैतिक र न्यायिक सिद्धान्त, दृष्टिकोणहरु, दर्शनशास्त्र, नैतिकता, कला र धर्म आदिको रुपमा देखापर्दछन् । क्रान्तिकारीहरुको दायित्व भनेको यी र यस्ता अनेकौं विषयवस्तुहरुलाई समय सापेक्ष ढङ्गले परिमार्जित गरी देशको आवश्यकता र जन चाहनालाई व्यवहारिक रुपले कार्यान्वयन गर्न, सोही अनुरुपको क्रान्तिकारी कार्य दिशा तर्जुमा गर्नु जरुरी हुन आउँछ । यसो गर्न सकेमा मात्र जीवन पनि क्रान्तिकारी बन्दै जान्छ । यसरी वैचारिक स्पस्टता, लक्षप्रतिको दृढता र संघर्षमा हाम फाल्न विवेकपूर्ण साहसिकता नै क्रान्तिकारीको सही पहिचान हो । र क्रान्तिकारी कम्युनिष्टहरु जहिले र जहाँकहि पनि सुविधा भोगी मानसिकताबाट माथि उठेर आफ्नो जिम्मेवारी बहन गर्नमा दत्तचित्त रहने मानसिकतानै उसको इमान्दारिता हो ।
हामी माक्र्सवाद, लेनिनवाद र माओवादीहरु निश्चितैरुपमा एकताको पक्षपाती हौं, एकताका विरोधी होइनौं । त्यसैले त हाम्रो नारा नै छ “विश्वका सम्पूर्ण मजदूरहरु एक होऔं” र यसलाई फेरि नारामा मात्र सीमित राखिआएका छैनौं । यो नारालाई विश्वव्यापी रुपमा ठूल–ठूला स्वरले घन्काउनुसंगसंगै अन्तर्राष्ट्रिय वर्ग, अन्तराष्ट्रिय पार्टी, पार्टीका सवाल वर्ग र जनताका सवालहरुप्रति अत्यन्तै महत्वकासाथ जिम्मेवारीपूर्ण ढङ्गले व्यवहारमा उतार्न कन्जुस्याइँ भएको छैन र कन्जुस्याइँ गर्नु हुन्न पनि । फेरि यसो भनेर छ्यासमिस तालले को वर्गीय दुश्मन को वर्गीय मित्र र को वर्गीय आत्मसमर्पणवादीहरु हुन् भन्ने कुरालाई ख्यालै नराखी जो कोहीलाई पनि एकताको परिधिभित्र ल्याउनु पर्छ भन्ने कुरो पनि सही होइन । यदि कोही कसैले एकताको नाउँमा दायाँ–बायाँ, अगाडि–पछाडि कहिं कतै केही नहेरी सोलोडोलो (सोरपटार) गरी एकता कायम गर्नु पर्छ भन्छन् भने त्यस्ताले मालेमावादको मर्म र भावनालाई बुझेको ठहरिन्न र त्यस्ता व्यक्तिको सोच पनि माक्र्सवादी दृष्टिकोण हुनसक्दैन र न कहिल्यै हुन सक्छ । हुन त निश्चय पनि त्यस्ता व्यक्तिहरु माक्र्सवादका सहयात्रीहरु हुन् ।
सिद्धान्तको आधारमा पार्टी एकतामा जोडदिनु समय सापेक्ष हुनुसंगै युक्तिसंगत हुने कुरो निरविवाद ठहरिन्छ । हुन पनि देशमा माक्र्सवादकै आवरणभित्र लगभग १२, १५ वटा कम्युनिष्ट पार्टी क्रियाशील हुँदै आइरहेका देखिन्छन् । यसरी एउटै सिद्धान्तमा आधारित भएर पनि पृथक रुपमा पार्टी गठन गरी बस्नु कुनैपनि अर्थमा सही मान्न सकिन्न । अहिले हाम्रो सामु खरो रुपमा उभिन आइपुगिरहेको चरण भनेको जनवादी क्रान्ति (राष्ट्रिय मुक्ति आन्दोलन) को चरण हो । जस्को निमित्त जनशक्तिको ठूलो खाँचो छ । जनताको सक्रिय सहभागिता बिना यो असम्भव छ । त्यसो भनेर बिना आधार सैद्धान्तिक गोलमतोल गरी पार्टीगत एकताको प्रक्रियालाई हतार–हतार अपनाउनुु पनि उचित मान्न सकिन्न । पार्टी एकताको जति आवश्यक छ त्यतिकै पार्टी एकताको क्रान्तिकारी प्रक्रियालाई सैद्धान्तिकीकरण गर्नु जरुरी छ । अर्थात मालेमावादको सर्वहारावादी फलामे अनुशासनयुक्त जनवादी संगठन, कार्यदिशा र कार्यनीति सहितको कसीमा घोटेर व्यवहारिक रुपले कार्यक्षेत्रमा क्रियाशील पार्टी–पार्टीबीच एकताको प्रक्रिया अपनाई पार्टी एकता कायम गर्नु जरुरी छ । अन्यथा सैद्धान्तिक तथा राजनीतिक आधारबिनाको त्यो गोलमतोल तरिका अपनाई पार्टीलाई एकताको नाउँमा पार्टी एकता कायम गर्दै गयौं भने यसै प्रक्रियाले सिंगो क्रान्तिकारी पार्टीलाई विसर्जनको स्थितिमा नपु¥याउला भन्न सकिन्न ।

प्रतिक्रियाहरु