सगरमाथा आरोहण सुचारु

२०७२ चैत्र २५ गते, बिहीबार

काठमाडौं, २५ चैत । दुई वर्षदेखि रोकिएको सगरमाथा आरोहण सुचारु भएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि आरोहीहरु काठमाडौंबाट सगरमाथा आधार शिविरतर्फ लागिरहेका छन् । हालसम्म २४ टिमका २२३ जना विदेशी आरोहीहरु आधार शिविर हिँडेका छन भने सात टिमबाट ५२ जनाले एप्लाई गरिसकेको पर्यटन विभागले बताएको छ । उनीहरु नेपाल आउने क्रम जारी छ । विदेशबाट आरोहीहरुको आवेदन आइरहेको हुँदा यो सिजनमा सगरमाथा आरोहण गर्नेहरु तीन सय पुग्ने अनुमान गरिएको छ । लगातारको प्राकृतिक विपत्तीले आरोहण अनिश्चित बनेपछि यस वर्ष आरोहीको संख्या घटेको छ । २०१५ मा सगरमाथा आरोहणका लागि ३५६ जना आरोही आएका थिए । तर, भूकम्पका कारण एकजनाले पनि आरोहण गर्न सकेनन् ।
यसवर्ष अप्रिल १६/१७ देखि आरोहीहरु सगरमाथा आधार सिविरबाट क्याम्प वानतिर जाने क्रम सुरु हुनेछ । अहिले कतिपय आरोहीहरु आधार शिविर पुगिसकेका छन् । कतिपय आरोहीहरु बाटोमा पर्ने ६ हजार मिटर उचाईका साना हिमालहरु चढ्दै आधार शिविरतर्फ गइरहेको कार्कीले बताए । ‘सगरमाथा चढ्नुभन्दा अगाडि आरोहीहरुले उचाई पचाउनका लागि साना हिमालहरु चढेर अभ्यास गर्छन्’ नेपाल माउन्टेनेयरिङ एशोसियसनका अध्यक्ष आङछिरिङ शेर्पाले भने- ‘धेरैजसो अरोहरु ६११९ मिटरको लघुचे इष्ट र ६१८७ मिटरको आइल्यान्ड पिक चढ्ने गर्छन् ।’ दुबै हिमाल सगरमाथा नजिक पर्छन् ।
एक्कासी आएको हुँदहुँद आँधीले २०१४ र विनाशकारी भूकम्पका कारण २०१५ मा सगरमाथा आरोहण स्थगित भयो । २०१४ मा चिनियाँ नागरिक सहितको ७ जनाको टोली क्याम्प टुसम्म हेलिकप्टरमा गएर शिखर चुमेको थियो । तर, २०१५ मा भूकम्पको पराकम्पन गइरहँदा एक जनापनि शिखर चुम्न सकेनन् । सगरमाथामा आरोहण गर्ने आरोहीको संख्या शून्य भएको ४० बर्षयता पहिलो पटक हो । सन् १९७४ यता सगरमाथा आरोहण कहिले पनि शून्यमा झरेको थिएन । पछिल्लो समय प्राकृतिक विपत्तीका कारण सगरमाथा आरोहण शंकटमा पर्दै आइरहेको छ । यो सिजनका लागि सगरमाथा प्रदुषण कन्ट्रोल समिति (एसपीसीसी) ले आइसफलको बाटो बनाइरहेका छन् । अहिलेसम्म बेसक्याम्पबाट क्याम्प वानसम्म बाटो बनाउनेक काम सम्पन्न भएको छ । बाटो बनाउँदै क्याम्प वान काटिसकेको एसपीसीसीको टोली निरन्तरण आइसफलको बाटो बनाउन लागिपरेको बताइएको छ । ‘अप्रत्याशित रुपमा कुनै विपत्ती आएन र प्रकृतिले साथ दियो भने यो वर्ष सगरमाथा आरोहण सफल हुने देखिन्छ । सगरमाथा आरोहणका लागि धेरैजसो २०१४ र २०१५ मा आरोहण गर्न नसकेका आरोहीहरु आएका छन् । सरकारले २०१४ मा आरोहण गर्न नसकेका आरोहीलाई ५ वर्षसम्म र २०१५ मा आरोहण गर्न नसकेका आरोहीलाई दुई वर्षसम्म रोयल्टी नलिने घोषणा गरेको छ । सगरमाथा अरोहणका लागि आरोहीले प्रमिशन शुल्कवापत ११ हजार अमेरिकी डलर अर्थात ११ लाखभन्दा बढी रुपैयाँ बुझाउनुपर्छ । सन् २०१५ मा तीन सय ५६ जना र २०१४ मा तीन सय २६ जना आरोही सगरमाथा चढ्न आएका थिए । एउटा आरोहीले सगरमाथा आरोहण गर्दा ३० हजार एक लाख अमेरिकी डलरसम्म खर्चने गरेको पाइएको छ । आरोहणमा धेरै गाइड लिएर जाने आरोहीको बढी पैसा खर्च हुन्छ ।
सरकारले सगरमाथा आरोहणका लागि खुला गर्ने निर्णय ढिलो गरिदिँदा यस वर्ष आरोहीको संख्या घटेको एनएमएका अध्यक्ष शेर्पाले जनाए । लगतार दुई वर्ष आएर फर्किएका आरोहीहरु ढिलो निर्णय हुँदा नआएको उनको भनाई छ । ‘विदेशबाट आउने आरोहीले धेरै कुरा म्यानेज गरेर आउनुपर्छ, सगरमाथा खुल्ने ढिलो थाहा पाउँदा धेरै आरोहीहरु आउन सकेनन्’ शेर्पाले भने- ‘तर, प्रतिकुल अवस्थामा पनि यति आरोहीहरु आउनु सकारात्मक नै मान्नुपर्छ ।’ सन् २०१७ मा आरोहीको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । यो वर्ष आउन नसकेका आरोहीहरु आगामी वर्ष आउने पर्यटन विभागका कार्कीले बताए । सन् २०१५ मा आरोहण गर्न नपाएका आरोहीलाई दुई वर्षमात्र रोयल्टी नलिने सरकारको घोषणाले पनि २०१७ मा आरोहीको संख्या बढ्ने अनुमान गरिएको हो । पर्यटन विभागका अनुसार सन् २०१५ मा ४२ टिमबाट ३५६ जना, सन् २०१४ मा ३२६ जना, २०१३ मा ३४८ जना, २०१२ मा ३४१ जना, २०११ म्ाा २५१ जना र २०१० मा २३७ जनाले सगरमाथा आरोहण गर्ने प्रमिशन लिएका थिए ।
एकपछि अर्को प्राकृतिक विपत्ती आउन थालेपछि सगरमाथा आरोहणलाई संकटमा पारेको छ । पछिल्ला दुई वर्षमा आएको प्राकृतिक विपत्तीले यही शंकेत गर्छ । सन् २०१५ मा कुनै पनि आरोहीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न सकेनन् । सन् २०१४ मा पनि ५ जना नेपाली सहित १ जना चिनियाँ आरोहीले सगरमाथा आरोहण गरेका थिए ।
सन् २०१५ अप्रिल २५ तारिखमा आएको विनाशकारी भूकम्प र त्यसको एक बर्षअघि सगरमाथा क्षेत्रमा गएको हिमपहिरोका कारण आरोहीको संख्या शून्यमा झर्‍यो । सन् २०१४ को हिमपहिरोले १६ जना र भूकम्पका कारण १६ जना अरोही तथा गाइडको ज्यान गएको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु