निगमकै कारण कालोबजारी र अभाव : ब्याबसायी

२०७२ माघ १४ गते, बिहीबार

काठमाडौ, १४ माघ । ढुवानीकर्ता तथा विक्रेताहरुले वितरणको एकाधिकार पाएको नेपाल आयल निगमले समान रुपमा वितरण नगर्दा बजारमा इन्धन अभाव र कालोबजारी बढेको आरोप लगाएका छन्। अभाव र कालोबजारी बढ्नुमा आयल निगम जिम्मेवार भएको भन्दै उनीहरुले सरकारी पम्पमार्फत मात्रै पेट्रोल वितरण गरिरहने हो भने समस्या यथावत हुने बताएका छन्। निगमले भने व्यसायीहरुको आरोप अस्वीकार गरेको छ। इन्धन वितरणमा निगमले गर्दै आएको कसिकसाउ र विक्री वितरण गर्न नपाएको पेट्रोल, ग्यास व्यवसायीहरुबीचको मनमुटावलाई उनीहरुले विज्ञप्तिमार्फत सहतमा ल्याएका हुन्।
कालोबजारी
बेच्नेले बेच्न पाएको छैन, किन्नेले किन्न पाएको छैन, जनताले कालोबजारीमा किन्नुपरेको छ, निजी पम्पलाई नदिई सरकारीलाई मात्र दिएर कसरी समाधान हुन्छ?
लिलेन्द्रप्रसाद प्रधान, अध्यक्ष, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसन
व्यवसायीहरु भन्छन्, निगमले सवारीसाधनलाई आवश्यक इन्धन समान रुपमा वितरण गरेको भए कालोबजारी फस्टाउन पाउने थिएन।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले भने, “निजीलाई दिएकै छैन, सरकारीलाई मात्र पेट्रोल दिएर समाचार आउँछ भण्डारण पूरा भएर बाहिर राखिरहेको छ तर बेच्नेले बेच्न पाएको छैन, किन्नेले किन्न पाएको छैन, जनताले कालोबजारीमा किन्नुपरेको छ, निजी पम्पलाई नदिई सरकारीलाई मात्र दिएर कसरी समाधान हुन्छ?”
निगमले जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीको सिफारिसमा र काठमाण्डूमा ७ वटा सरकारी पम्पमार्फत पेट्रोल वितरण गर्दै आएको छ भने अत्यावश्यक संस्थाहरुलाई सरकारी आदेशको आधारमा इन्धन बाँड्ने गरेको जनाएको छ।
प्रश्रय
कुन नियमअन्तर्गत कारवाही गर्नुपर्ने हो हामीले कारवाही गर्छौँ, सचेत गराउनुपर्यो भने सचेत गराइहाल्छौँ, निगमले कालोबजारीहरुलाई प्रश्रय दिईरहेको छ भनेर कसरी वहाँहरुले भन्नुभयो?
दिपक बराल, निर्देशक, वितरण विभाग, नेपाल आयल निगम
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिइ एसोसियसन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी महासंघले भने राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति गठन गर्दै निगमलाई कालोबजारीलाई प्रश्रय दिएको आरोप लगाएको छ।
त्यसको खण्डन गर्दै निगमका वितरण विभागका निर्देशक दिपक बरालले भने, “कुन नियमअन्तर्गत कारवाही गर्नुपर्ने हो हामीले कारवाही गर्छौँ, सचेत गराउनुपर्यो भने सचेत गराइहाल्छौँ, निगमले कालोबजारीहरुलाई प्रश्रय दिईरहेको छ भनेर कसरी वहाँहरुले भन्नुभयो?”
व्यवसायीहरुले अनुशासनको सीमा नाघेकाले उनीहरुलाई नियम अनुसार कारवाही गरिने उनको भनाई छ।
तर व्यवसायीहरु भन्छन् आपूर्ति व्यवस्थामा सुधार नगरिए हामी आन्दोलनमा उत्रिनेछौँ।

प्रतिक्रियाहरु