इन्धन आयातमा अबरोध कायम

२०७२ आश्विन ३० गते, शनिबार

काठमाडौं, ३० असोज । सरकारको अलमल र भारतले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ नेपाल नपठाउंदा इन्धन आपूर्ति अझै सहज हुन सकेको छैन ।मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज लामो समयदेखि ठप्प रहँदा इन्धन अभाव चर्किंदै गएको छ । अन्य नाका खुकुलो भएको भनिए पनि पर्याप्त मात्रामा इन्धन आपूर्ति भने हुन सकेको छैन । इन्धन भर्न गएका नेपाली ट्यांकरहरुलाई भारतीय डिपोहरुले न्युन मात्रामा कोटा प्रणालीबाट तेल दिएकाले अवरोध नभएका नाकाबाट पनि पर्याप्त मात्रामा इन्धन आउन सकेको छैन ।
शुक्रबार रातिसम्म रुपन्देहीको बेलहीया सुनौलि नाकाबाट २ सय ९६ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । त्यस्तै पेट्रोलियम पदार्थका २० वटा र ६४ वटा पिकअप गाडी समेत शुक्रबार राति यो नाका भएर नेपाल भित्रिएको छ ।
यस्तै मध्य पश्चिमको नेपालगञ्ज–रुपैडिहा नाकाबाट शुक्रबार रातिसम्म १ सय १८ वटा गाडीहरु नेपाल प्रवेश गरेकोमा १८ वटा पेट्रोलियम पदार्थको ट्याङ्कर रहेका छन् ।
उता, उत्तर प्रदेशको स्थानिय चुनाव हुन लागेकोले शनिबार बेलुका ७ बजेसम्म यो नाका सिल गरिएको छ । यो नाका भएर आज एम्बुलेन्स आवत जावतमा कुनै रोक लगाइएको छैन ।
उता, कांकडभिट्टाको मेची भंसारबाट शुक्रबार रातिसम्ममा १ सय ८५ वटा गाडी नेपाल प्रवेश गरेकोमा पेट्रोलियम पदार्थका १७ वटा रहेका छन् । जसमा डिजल १०, पेट्रोलको ६, ग्यास बुलेट ३, मट्टितेल १ र एउटा हवाई इन्धन रहेका छन् ।
बिराटनगरको रानी भंसारबाट शुक्रबार रातिसम्म ७१ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेकोमा पेट्रोलियम पदार्थ बोकेको ७ वटा र ग्यास बुलेटका ११ वटा रहेका छन् ।
नेपालबाट इन्धन भर्न जोगवनी हुंदै दैनिक ४० वटा ट्याङकर भारत बरौली डिपो पठाएपनि भारतीय आयल कर्पोरेसनले दैनिक १० वटालाई मात्र तेल दिने गरेको छ ।
नाकामा कुनै अबरोध नरहेपनि मागेजति तेल आयुसिले नदिंदा इन्धन भित्राउन नसकिएको नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रिय कार्यालय बिराटनगरका प्रमुख खिलेन्द्र कार्कीले जानकारी दिए । उता, कैलालीको धनगढी नाकाबाट भने कुनै अवरोध पेट्रोलियम पदार्थका गाडी नेपाल प्रवेश गरिरहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु