आजदेखि सुपथ मूल्य पसल

२०७२ आश्विन २९ गते, शुक्रबार

काठमाडौं, २९ असोज । दशैंमा हुने कालोबजारीलाई निरुत्साहित पार्न खाद्य संस्थान, साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङका राजधानीमा रहेका बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्रीको बिक्री सुरु गरेका छन । अर्थमन्त्रालयले पुरानो बक्यौता भुक्तानी गरी यसवर्षलाई पनि अनुदान दिएपछि सुपथ मूल्यको पसल सञ्चालन भएको छ । सरकारले सुपथ मूल्यका पसलमा चिनी किन्दा ५ रुपैयाँ, नुनमा २ रुपैयाँ र चामलमा ५ रुपैयाँ छुटको सुविधा दिएको बाणिज्य विभागका निर्देशक हरिनारायण बेल्वासेले बताए । जस अनुसार चिनी ६० रुपैयाँ प्रतिकिलो र नुन १६ रुपैयाँ प्रतिकिलोे पर्नेछ । खाद्य संस्थानले थापाथली, नख्खु र जाउलाखेलका बिक्री केन्द्रमा सुपथ मूल्यको पसल चलाएको प्रवक्ता श्रीमणिराज खनालले जानकारी दिए । केही दिनमा काठमाडौंका अन्य महत्वपूर्ण स्थानमा पनि सुपथ पसल चलाउने संस्थानको योजना छ । खसीबोका र च्याङ्ग्राको बिक्रीमा धेरै कर्मचारी लाग्नु परेकाले तत्काल अन्य स्थानमा पसल चलाउन अप्ठेरो भएको प्रवक्ता खनालले बताए ।
यसैगरी नेशनल ट्रेडिङले टेकु र सिंहदरबारमा सुपथ मूल्यको पसल चलाएको छ । साल्ट ट्रेडिङले कालीमाटी, कोटेश्वर, सतुंगल, भक्तपुर, र बनेपाका बिक्री केन्द्रबाट सुपथ मूल्यमा नुन र चिनीको बिक्री गरिरहेको छ । यसपटक संस्थानका पुरानो बक्यौता भुक्तनीमा अर्थ मन्त्रालयले चासो नदिँदा घटस्थापनादेखि नै सञ्चालन हुने सुपथ मूलयका पसल ढिला गरी सञ्चालनमा आएका हुन् । तयारी नपुग्दा संस्थानहरुका पुराना बिक्री केन्द्रबाट मात्रै खाद्य सामग्रीको बिक्री सुरु भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु