इन्धन आयात सुचारु हुदै

२०७२ आश्विन २७ गते, बुधबार

काठमाडौं, २७ असोज । भन्सार बिभागले वीरगन्जबाहेक देशका प्रमुख नाकाहरुमा अवरोध हटेर आयात सामान्यतर्फ उन्मुख बनेको जनाएको छ । विभागका महानिर्देशक सुशील ढुंगानाले वीरगन्ज–रक्सौलको अवरोध पनि केही दिनमा खुलाउने पहल भइरहेको जानकारी दिए ।
भारतीय पक्षले भन्सार जाँचपास सहज बनाएसँगै देशका मुख्य नाकाबाट इन्धन बोकेका ट्यांकर नेपाल भित्रिएका छन् । पूर्वका दुवै नाकाबाट इन्धन र सवारी साधन सहज रुपमा आउन थालेका छन् ।
विराटनगरको रानी भन्सारबाट मंगलबार राती २ सय १७ वटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । यो नाकाबाट ६१ ट्यांकर डिजेल, १२ ट्यांकर पेट्रोल र १५ वटा ग्यास बुलेट मंगलबार रातिसम्म नेपाल प्रवेश गरेको छ ।
उता, काँकडभिट्टा नाका हुँदै मंगलबार रातिसम्म १ सय ८७ वटा मालवाहक गाडी नेपाल प्रवेश गरेका छन् । यो नाकाबाट १० ट्यांकर डिजेल, ९ ट्यांकर पेट्रोल, एक ट्यांकर हवाई इन्धन र एक ट्यांकर मट्टितेल नेपाल भित्रिएको छ । यही अनुपातमा भारतबाट आयात जारी रहे केही दिनमै आपूर्ती सहज हुने मेची भन्सार कार्यालयले जनाएको छ ।
उता, सुनौली नाका हुँदै भैरहवा भन्सारमा आयात भईरहे पनि खाद्यान्न, तरकारी र कच्चा पदार्थको गाडीको अनुपातमा इन्धनका गाडी भने निक्कै कम आएका छन् ।
बेलहिया–सुनौली नाकाबाट मंगलबार रातिसम्म १ सय ९५ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेका छन् । त्यस्तै तीन ट्यांकर पेट्रोल, २ ट्यांकर डिजेल र ५ वटा ग्यास बुलेट पनि नेपाल भित्रिएका छन् ।
आयात सहज भएको मध्ये पश्चिम नेपालको बांकेको रुपैडिया–जमुनाहा नाका भएर मंगलबार रातिसम्ममा ६६ वटा मालबाहक गाडी नेपाल भित्रिएकोमा डिजेलका १३ ट्यांकर र एउटा ग्यास बुलेट रहेको छ ।
यो नाकामा कुनै अबरोध नभए पनि गत आइतबारको तुलनामा हिजो राजश्व संकलन ज्यादै न्यून उठेको छ । आइतबार २ करोड राजश्व नाघेकोमा मंगलबार ६६ लाख मात्र उठेको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र हमालले जानकारी दिए ।
त्यस्तै सुदूरपश्चिमको कैलालीमा रहेको गौरीफन्टा नाका भएर गएरातिसम्म २० ट्यांकर डिजेल र २ ट्यांकर पेट्रोल नेपाल भित्रिएको छ । उता वीरगन्ज भन्सारमा मोर्चाको धर्ना र अवरोधका कारण रक्सौल नाकाबाट २० दिनदेखि आयात ठप्प छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु