भारतले नाकावन्दी खुकुलो बनाउदै

२०७२ आश्विन २५ गते, सोमबार

काठमाडौं, २५ असोज । भारतीय ओयल निगमले पेट्रोलिय पदार्थ पठाउने जनाएसंगै भारतको अघोषित नाकावन्दी केही खुकुलो भएको छ । प्रमुख दुई नाकामा भारतले रोक लगाएपनि अरु नाकाबाट भने मालसामानका कन्टेनर र केही मात्रामा पेट्रोलियम पदार्थका ट्यांकर नेपाल भित्रने क्रम जारी छ । बिराटनगरको रानी भन्सारमा आइतबार मधेशी मोर्चाको अवरोध पुर्‍याए पनि आज(सोमबार) भने नाका सामान्य नै छ ।
पेट्रोलियम पदार्थ नेपाल नभित्रिएपनि नेपाली ट्यांकरहरु भारत तर्फ गएका छन् । आज पेट्रोलिय पदार्थ केही मात्रामा भित्रने जनाइएको छ । पूर्वको काँकडभिट्टामा अवरोध बिना नै गाडीहरु भित्रिरहेका छन् । यो नाकाबाट आइतबार १ सय २२ वटा मालवाहक गाडी नेपाल भित्रिएका छन् जसमा १४ वटा पेट्रोल र ३ वटा ग्यांस बेकोका ट्यांकर रहेका छन् । आइतबार नै ३५ वटा ट्यांकर पेट्रोलियम पदार्थ लिन भारत तर्फ गएका छन् ।
बाँकेको रुपहडिया–जमुनाहा नाका भएर २६ वटा डिजल, ११ वटा एलपी ग्यासका बुलेट र ७ वटा हवाई ईन्धन बोकेका ट्याङकर नेपाल प्रबेश गरे । यो नाकाबाट आइतबार ९१ वटा मालबाहक गाडी नेपाल प्रबेश गरेका थिए ।
कैलालीको धनगढी नाका भएर आइतबार ७ वटा डिजलका गाडी नेपाल प्रबेश गरेपनि ग्यास र पेट्रोल भने भित्रिएनन् । अन्य मालबाहक गाडी भने यो नाका भएर निर्वाध रुपमा भित्रिरहेका छन् । पेट्रोलिय पदार्थ लिनका लागि आइतबार २८ ट्यांकर भारत तर्फ पठाइएको छ ।
यता, देशको प्रमुख व्यापारिक बीरगञ्ज भन्सार नाका १९ दिनदेखि ठप्प छ । भारतले घोषित रुपमै यो नाका बन्द गर्दा सयौंको संख्यामा मालबाहक गाडी, ग्यांस बुलेट र पेट्रोलियम पदार्थ बोकेका गाडी भारततर्फ रोकिएका हुन् ।
रक्सौलमा नेपाल भित्रन लामबद्ध ३ सयभन्दा बढी पेट्रोलियम पदार्थ बोकेका गाडी छन् । भैरहवाबाट पनि ९ दिनयता कुनै पनि सामग्री नेपाल भित्रन दिइएको छैन । भारतले नै यो नाका बन्द गरेपछि नेपाल प्रवेश गर्न सुनौली नाकामा लामबद्ध गाडी भारततर्फ फर्किएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु