घटेको भाडादर लागू गर्न अनुगमन

२०७२ भाद्र २८ गते, सोमबार

काठमाडौ २८ भदौ । सरकारले सार्वजनिक गाडीमा घटेको भाडादर लागू गर्न अनुगमन थालेको छ । यातायात व्यवस्था विभागले अनुगमनका क्रममा भाडा बढी लिने गाडीलाई कारबाही गर्ने बताएको छ । हिजो ३० वटा गाडीलाई कारबाही गरिएको र आज पनि बिहानैदेखि अनुगमन थालेको विभागले जनाएको छ ।
विभागका प्रवक्ता वसन्त अधिकारीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार बढी भाडा लिने गाडीलाई एक हजारदेखि ५ हजार रुपैयाँसम्मको जरीवाना हुनेछ । बढी भाडा लिनेलाई विभागले हदै सम्मको कारबाही गरेको उहाँले बताउनुभयो । गएको शुक्रबारदेखि लागू हुने गरी सार्वजनिक गाडीमा भाडा घटाएपनि गाडीवालाले लागू नगरेपछि विभागले कार्ययोजना बनाएरै अनुगमनलाई तीव्र पारेको छ । अहिले तीनवटा टोली अनुगमनमा खटिएका छन् ।
विभागका प्रवक्ता अधिकारीले घटेको भाडा अनुसार मात्र भाडा तिर्न यात्रु पनि सचेत हुनुपर्ने बताउनुभयो । बढी भाडा लिए नजिकैको ट्राफिक प्रहरीलाई जानकारी गराउन पनि उहाँको आग्रह छ । सरकारले घटेको भाडादर अनुसार काठमाण्डू उपत्यकाको न्युनतम भाडा १३ रुपैयाँ पर्छ । अरु ठाउँको भाडादर विभागले आफ्नो वेवसाइटमा राखेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु