‘ सेयर कारोबारमा भ्याट नलगाउ ‘

२०७२ भाद्र २२ गते, मंगलवार

काठमाडौं । सेयर बजार विज्ञ र लगानीकर्ताले सेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन सरकारसँग आग्रह गरेका छन् । सेयर लगानीकर्ताले ब्रोकरलाई तिर्ने कमिसनमा भ्याट लगाउने आशयले आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेपछि लगानीकर्ता झस्केका छन् । ब्रोकरले लिने कमिसनमा भ्याट लाग्ने भनिए पनि यसको भार आफूहरुलाई नै पर्ने लगानीकर्ताको गुनासो छ ।
सेयर कारोबारमा भ्याट लागेमा हाल तिर्दै आएको कमिसनमा १३ प्रतिशत थपेर लगानीकर्ताले ब्रोकरलाई बुझाउनुपर्छ । विज्ञहरुले पनि नेपालको पँुजीबजार प्रारम्भिक चरणमै रहेको हुनाले भ्याटका नाममा कर थपेर लगानीकर्तालाई हतोत्साहित गर्न नहुने बताएका छन् । हाल लगानीकर्ताले सेयर बेचेर नाफा भएको अवस्थामा व्यक्तिगत भए पाँच प्रतिशत र संस्थागत भए १० प्रतिशतका दरले पुँजीगत लाभ कर तिर्दै आएका छन् । यस्तो अवस्थामा थप कर तिर्नुपर्दा लगानीकर्ता हतोत्साहित भएर अन्ततः सिंगो पुँजीबजारमा नै नकारात्मक असर पर्ने सक्ने विश्लेषण गरिएको छ ।
यसैबीच नेपाल इन्भेस्टर्स फोरमका पदाधिकारीले सोमबार नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक सीताराम थपलियालाई भेटेर सेयर कारोबारमा भ्याट लगाउने निर्णयमा पुनर्विचारका लागि पहल थाल्न आग्रह गरे । भ्याट लागू गर्दा सेयर बजारमा नकारात्मक असर पर्ने उनीहरुको भनाइ थियो । कानुनद्वारा तोकिएका भ्याट नलाग्ने वस्तु तथा सेवाको सूचीमा सेयर कारोबार समावेश नभएकाले त्यही आधारमा आन्तरिक राजस्व कार्यालयले ब्रोकर कम्पनीहरुलाई भ्याटमा दर्ता हुन हालै पत्र पठाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु