प्राइम बैंक ८० करोड नाफामा

२०७२ श्रावण २६ गते, मंगलवार

काठमाडौं, २६ साउन । प्राइम कमर्शियल बैंकले आर्थिक वर्ष २०७१/०७२ मा १० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकले ५५ करोड ४४ लाख रुपैयाँ कमाएको थियो । व्याज आम्दानी र संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्याक) नै बैंकको नाफाको मूख्य आधार हो । एक वर्षको अवधिमा बैंकको खुद व्याज आम्दानी ३४ करोड रुपैयाँले बढाएर १ अर्ब ३९ करोड रुपैयाँ पुर्‍याएको छ त्यसैगरी, यस अवधिमा राइटव्याक ८ करोडले बढेर २१ करोड पुगेको छ ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड रुपैयाँ छ । २०७४ असार मसान्तसम्ममा ८ अर्ब चुक्ता पुँजी पुर्‍याउन बैंकले अधिकतम बोनस सेयर दिनुपर्ने हुन्छ । अघिल्लो वर्ष बैंकले १९ प्रतिशत बोनस दिएको थियो । यस वर्ष पनि बैंकले २० प्रतिशतसम्म बोनस सेयर दिनसक्ने नाफा कमाएको छ । बैंकको सञ्चित कोष १ अर्ब २७ करोड छ ।
एक वर्षको अवधिमा बैंकको व्यवसायको आकारमा पनि सन्तोषजनक वृद्धि भएको छ । ०७२ असार मसान्तसम्ममा बैंकले ४१ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ३२ अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको बुधबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ । ०७१ असार मसान्तसम्ममा बैंककले ३४ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । कूल कर्जाको १३.३६ प्रतिशत रियलस्तेट कर्जा छ ।
त्यसैगरी बैंकले कूल कर्जामा खराब कर्जामा मात्रा पनि उल्लेख्य घटाएको छ । ०७१ मा २.४३ प्रतिशत रहेको खराब कर्जा ०७२ मा १.७५ प्रतिशत रहेको छ । बैंकले निक्षेपमा दिने र कर्जामा लिने व्याजबीचको अन्तर (स्प्रेड दर) भने केही बढाएको छ । अघिल्लो वर्ष २.९४ प्रतिशत रहेको स्प्रेड दर गत वर्ष ३.४३ प्रतिशत पुगेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु