कीर्तिपुरमा आँखा अनुसन्धान केन्द्र

२०७२ श्रावण १६ गते, शनिबार

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा अत्याधुनिक आँखा अस्पताल तथा आँखा अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । करिब १० रोपनी जग्गामा रु दुई अर्बको लगानीमा छ महिनाभित्र अस्पताल निर्माण सम्पन्न गरिनेछ ।
यहाँ आज आयोजित कार्यक्रममा त्रिविका उपकुलपति प्रा डा हीराबहादुर महर्जन र सङ्घका अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्रले संयुक्तरुपमा अस्पतालको शिलान्यास गर्नुभयो ।
उक्त कार्यक्रममा त्रिविका उपकुलपति महर्जनले मरणोपरान्त आँखादान गर्ने घोषणा गर्दै आफ्नो संस्थाले सार्वजनिक–निजी साझेदारीको माध्यमबाट शिक्षाको विकास गर्न खोजेको बताउनुभयो ।
उहाँले उक्त अस्पतालबाट कीर्तिपुर क्षेत्रमा ठूला अस्पताल स्थापना हुन नसकेको अवस्थामा त्यहाँ निर्माण हुने अस्पतालले स्थानीय तथा अन्यक्षेत्रका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष प्रा डा मिश्रले देशमा अन्धोपना निवारण गर्न तथा आँखा उपचारको क्षेत्रमा आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न सो अस्पताल उपयोगी हुने बताउनुभयो ।
त्रिविका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेले सो परिसरभित्र मेडिकल कलेज स्थापना गर्ने चाहना भएको भएपनि विविध कारणले नसकिएको बताउँदै अस्पताल निर्माण भएपछि नेपाली जनताले आँखाको उपचारमा अत्याधुनिक सेवा प्राप्त गर्नसक्ने हुँदा सबै क्षेत्रबाट सहयोगको अपेक्षा गर्नुभयो ।
सङ्घका वरिष्ठ चिकित्सक प्रा डा रामप्रसाद पोखरेलले सो अस्पतालमा अन्तर्राष्ट्रियस्तरको मापदण्ड पूरा गरी नमुनाका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिँदै काठमाडौँ उपत्यकाका अन्य स्थानमा समेत यस किसिमको अस्पताल स्थापना गरी आँखा सेवा विस्तार गरिने बताउनुभयो । सङ्घका निर्देशक शैलेशकुमार मिश्रले अस्पतालमा सम्बन्धित विषयको अध्ययन तथा अनुसन्धानका गतिविधिसमेत सञ्चालन गरिने जानकारी दिनुभयो । – रासस

प्रतिक्रियाहरु