आजवाट मनसुन सक्रिय

२०७२ असार १० गते, बिहीबार

काठमाडौं, १० असार । मौसमविद बरुण पौडेलले आजदेखि मनसुन देशभर सक्रिय भएको बताएका छन । मौसमविद पौडेलले मनसुन सक्रिय भएकाले देशका विभिन्न भागमा बाढी र पहिरो जान सक्ने बताए । वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण जमिन हल्लिएर कमजोर भएकोले वर्षाबाट बाढी र पहिरो जाने धेरै सम्भावना भएकाले सतर्क रहन सबैलाई आग्रह गरे । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले धेरै ठाउँमा पानी परिरहेको छ भने केही ठाउँको मौसम धुम्मिएको छ । यो बदली शुक्रबार बेलुकसम्म कायम रहनेछ ।
विशेषगरी मध्य र पश्चिममा मेघगर्जनसहित वर्षा हुने अनुमान छ । बुधबारसम्म पूर्व र मध्य क्षेत्रमा कमजोर रुपमा रहेको मनसुन अरेबियन सागरबाट आएको जलवाष्पयुक्त हावाका कारण सक्रिय भएको हो । यो पश्चिममा पनि पुगिसकेको महाशाखाले जनाएको छ ।
बिहीबार बिहानैदेखि देशभरी नै बदली भैरहेको छ । विशेषगरी सुदूरपश्चिम, मध्य पश्चिम र पश्चिमका धेरै ठाउँमा लगातार पानी पर्ने सम्भावना छ । महाशाखाका अनुसार सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, दार्चुला, बैतडी, बझाङ, डोटी, सुर्खेत बर्दिया र बाँकेमा ठूलो पानी पर्ने सम्भावना छ । पानी पर्ने क्रम शुक्रबार बेलुकदेखि मध्य क्षेत्रमा पनि बिस्तार हुने महाशाखाले जनाएको छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु