पानी प्रशोधन प्रविधिमा नेपाली वैज्ञानिकसहितको टोली छनोट

२०७२ बैशाख १० गते, बिहीबार

काठमाडौ, १० बैशाख । लवणयुक्त नुनीलो पानीलाई पिउन र सिँचाइका लागि योग्य बनाउने आधुनिक प्रविधिको विकासमा विश्वका ७० टिममध्ये नेपाली वैज्ञानिक एमपी भट्टसहितको ‘ग्रीनडिजल’ नामक टोली अन्तिम पाँचमा छनौट हुन सफल भएको छ । विश्वको खाद्य सङ्कट र पानीको समस्या समाधानका लागि संयुक्त राज्य अमेरिका, स्वीडेन र नेदरल्यान्डको संयुक्त तत्वावधानमा सन् २०१३ मा विश्वभरबाट पानी प्रशोधन आधुनिक प्रविधिको विकासका लागि आह्वान गरिएको प्रस्तावका आधारमा विश्वभरबाट ७० समूहले प्रस्ताव दर्ता गराएका थिए ।
नेपालीसहित अमेरिका, जोर्डन, इजरायल र ब्राजिलका पाँच वैज्ञानिक संलग्न ‘ग्रीनडिजल’ टोली इन्धनको कम खपत, वैकल्पिक ऊर्जाको प्रयोगका साथै वातावरणीय सन्तुलन र कम खर्चिलो पानी प्रशोधन गर्ने प्रविधिका आधारमा अन्तिम पाँचमा पर्न सफल भएको डा. भट्टले राससलाई जानकारी गराउनुभयो ।
उत्कृष्ट प्रविधिलाई डिसेलिनेसन पुरस्कारस्वरुप रु चार करोड प्रदान गरिने योजनाका साथ ल्याइएको घोषणाअनुसार ‘ग्रीनडिजल’ ले पिउन योग्य र सिँचाइका लागि आवश्यक पानी प्रशोधन गर्न वैकल्पिक ऊर्जाको प्रयोग र वातावरणीय सन्तुलन विधिका कारण उत्कृष्ट हुने टिममा संलग्न डा भट्टले विश्वास व्यक्त गर्नुभयो ।
यस अन्तर्राष्ट्रिय डिसेलिनेसन प्रविधि निर्माण प्रतिष्पर्धामा सो टोली सौर्य तथा वायुऊर्जाको प्रयोग र वातावरणमैत्री भएकै कारण गत चैत २६ देखि २८ गतेसम्म अमेरिकामा भएको प्रतिष्पर्धामा उत्कृष्ट पाँचभित्र पर्न सफल भएको थियो । पाँच टोलीमध्ये सर्वोत्कृष्ट टोलीको भोलिसम्ममा टुङ्गो लाग्नेछ ।
‘ग्रीनडिजल’ले प्रस्ताव गरेको प्रविधिबाट सजिलैसँग जिवाणु, विषादीजन्य रसायन पदार्थ (पेस्टीसाइड), लवणहरू र आर्सनिकलगायत अरु धातुसमेत हटाउन सकिन्छ । यो प्रविधिबाट विश्वको खाद्य सङ्कट र पानीको समस्या समाधानमा कोसेढुङगा सावित हुने डा भट्टको विश्वास छ ।
दुई दशकभन्दा बढी समयदेखि अनुसन्धानमा संलग्न डा भट्टले जापानको नागोया विश्वविद्यालयबाट एमएस र संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ न्यूह्याम्पसायरबाट प्राकृतिक सम्पदा र वातावरणीय व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएको छ ।
हाल विश्वको करिब १७ प्रतिशत जनसङ्ख्या उचित पोषणयुक्त खानेपानीबाट वञ्चित छन् । जलवायु परिवर्तनले समुद्र र जमिनमुनिको पानी आपसमा मिसिदा बढ्दो जनसङ्ख्याको लागि स्वच्छ पिउने पानी र सिँचाइ योग्य पानीका लागि दिनहुँ चुनौती थपिँदै गएका छन् । आगामी १५ वर्षभित्रमा विश्वको झण्डै ७० प्रतिशत जनसङ्ख्या पानीको जटिल समस्याबाट प्रभावित हुने अनुमान गरिएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चन्द्रमामा सोचेभन्दा बढी पानी !

२०८१ बैशाख २० गते, बिहीबार

प्लास्टिक खाने ब्याक्टेरिया !

२०८१ बैशाख १९ गते, बुधबार

गुगलको पाइथान टिम बर्खास्त

२०८१ बैशाख १८ गते, मंगलवार