पुष्प प्रदर्शनी चैत ७ देखि

२०७१ चैत्र २ गते, सोमबार

काठमाडौं,२ चैत। फ्लोरिकल्चर एशोसियशन नेपालले चैत ७ गतेदेखि १० गतेसम्म काठमाडौमा ८ औं पुष्प प्रदर्शनी हुने भएको छ । स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय भन्ने नाराका साथ फ्लोरिकल्चर एशोसियशन नेपालले पुष्प प्रदर्शनी गर्न लागेको हो ।फ्लोरिकल्चर एशोसियशनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कृषि विकास मन्त्रालयसँग मिलेर भृकुटीमण्डपमा प्रदर्शनी गर्न लागेको जानकारी दिएको छ । एशोसियशनका अनुसार प्रदर्शनीमा ६५ वटा व्यवसायिक, १० वटा सूचनामूलक र ३ वटा प्रतिस्पर्धात्मक स्टल रहने छन् ।
स्टलमा मौसमी फूल, आलंकारिक बोट विरुवा, कट फ्लावर, सुनखरी, फूलको गानो, कृषि औजार, कम्पोष्ट मल लगायतका सामाग्री राखिने एशोसियशनका मेला संयोजक कुमार कसजु श्रेष्ठले बताए ।
एशोसियशनले मेलामा सहभागी पुष्प व्यवसायीमध्ये उत्कृष्टलाई मौसमी फूल, आलंकारिक बिरुवा, फूल्ने विरुवा, ल्याण्डस्केप, पुष्प सजावट र स्टल विधामा नगदसहित पुरस्कृत गर्ने कार्यक्रम राखिएको जनाएको छ ।
नेपालमा अहिले करिब ७ सय वटा पुष्प नर्सरी छन् । गएको वर्ष नेपालमा १ अर्ब २७ करोड ७५ लाख रुपैयाँको फूलको कारोबार भएकामा ४ करोड रुपैयाँ बराबरका फूल भारतबाट आयात गरिएको तथा ३ करोड रुपैयाँका फूल विदेश निर्यात भएको एशोसियशनले जनाएको छ ।

प्रतिक्रियाहरु