क्यासिनो मजदुरको खवरदारी

२०७१ चैत्र १ गते, आईतवार

काठमाडौ । सांग्रीला क्यासिनोेका मजदुरहरुले क्यासिनोमा पुरानै कर्मचारीलाई पुनर्वहाली नगरे क्यासिनो क्षेत्रका माफिया, दलाल र भ्रष्टहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दिपकचन्द्र अमात्यलाई आइतवार (०१चैत्र) ज्ञापनपत्र बुझाउँदै क्यासिनो साँग्रिला संयुक्त संघर्ष समितिले आफूहरुले उठाएका मागहरु तत्काल सम्बोधन नभए जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको चेतावनी दिएको छ । संयुक्त संघर्ष समितिका अध्यक्ष भूमिनन्द आमगाइँले बन्दपछि पुनः सुचारु भएपनि सम्पूर्ण मजदुरहरुको पूर्ण क्षतिपूर्तिसहित बहाली नगरे यस क्षेत्रका फटाहा, भ्रष्ट र मजदुरमारालाई कुनै हालतमा नछोड्ने चेतावनी दिएको बताए । मन्त्रालयका तर्फबाट ज्ञापनपत्र बुभ्mदै मन्त्री र सचिव दुवैले गैरजिम्मेबार अभिव्यक्ति दिएको उनले बताए ।
पत्रमा ०७० असोज १२ गते मध्यरातमा आकस्मिक गैरजिम्मेवारी ढंगले क्यासिनो बन्द हुनु कानुनसम्मत नभएको र पुनः सञ्चालन गर्दा पुराना अनुभवी र इमान्दार मजदुरहरुलाई निष्काशन गर्नुमा ठुलै आर्थिक चलखेल भएको र मजदुरमाराहरुले गम्भीर षड्यन्त्र गरेको आरोप लगइएको छ । सयौं क्यासिनो मजदुरहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहलअगाडि धर्ना दिएका थिए भने होटल मजदुर क्षेत्रका नेता एवं क्यासिनो मजदुरहरुले मन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रियाहरु