सामुदायिक विद्यालय समायोजन गरिदै

२०७१ फाल्गुन २६ गते, मंगलवार

काठमाडौ, २६ फागुन। विद्यार्थी र शिक्षक अनुपात नमिलेका सामुदायिक विद्यालय समायोजनका लागि शिक्षा विभागले जिल्ला शिक्षा अधिकारीहरुलाई विवरण पठाउन परिपत्र गरे पनि कमै मात्र शिक्षा कार्यालयहरुले विवरण पठाएको पाइएको छ ।भौतिक तथा भौगोलिक मापदण्ड पूरा गरेका विद्यालय समायोजन गर्न विभागले जिल्ला शिक्षा कार्यालयहरुलाई १५ दिनभित्रमा विवरण पठाउन परिपत्र गरेको थियो । यही फागुन ३ गते परिपत्र गरिएको भए पनि समायोजनका लागि विवरण आउनेक्रम जारी रहेको शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले बताए ।
समायोजन गर्नुपर्ने विद्यालयको नाम, सञ्चालित कक्षा, विद्यार्थी संख्या,दुरी, पैदल लाग्ने समयसहितको विवरण माग गरिएको छ । एक वर्षअघि नै १ देखि कक्षा १२ सम्म पढाइ हुने सामुदायिक विद्यालय समायोजनका लागि मन्त्रिपरिषद्ले निर्देशिका स्वीकृत गरेको हो ।
समायोजन गर्ने नगर्ने भन्ने बारेमा समुदायसँग छलफल गर्नुपर्ने भएका कारण विभागमा पूर्ण विवरण पठाउन ढिलाइ भएको पाँचथरका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । वितेको एक वर्षमा समायोजन र बन्द गरिएका सामुदायिक विद्यालयको संख्या ४ सय १७ रहेको पनि विभागको भनाइ छ । हाल मुलुकभरमा २९ हजार १ सय ३३ सामुदायिक विद्यालय छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु