मलेसियाबाट फर्काइए अबैध नेपाली कामदार

२०७१ आश्विन ३ गते, शुक्रबार


काठमाडौ ।मलेसियाले तीन सय ७१ जना नेपाली गैरकानुनी कामदारलाई बिहीबार स्वदेश फर्काएको छ । यी कामदार एअर एसियाको विमानबाट आइपुगेका हुन् ।उनीहरुलाई श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
उनीहरुसँग मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यात पनि थिए । मलेसिया नेपाली कामदारका लागि पहिलो गन्तव्य हो । हाल मलेसियामा करिब ५० हजार नेपाली कामदार अवैध रुपमा बसिरहेको अनुमान छ । भिसा अवधि सकिएका, कागजपत्र हराएका र कानुनअनुसार दर्ता नभएका कामदारलाई मलेसिया सरकारले गैरकानुनी भन्दै आएको छ ।
गैरकानुनी आप्रवासी कामदारको संख्या बढ्दै गएपछि पछिल्लो समय मलेसिया सरकारले आममाफीको कार्यक्रम ल्याएर स्वदेश फर्कन प्रोत्साहित गरेको थियो । आममाफीको समयसीमा सकिएपछि पक्राउ पर्ने डरले धेरै गैरकानुनी नेपाली कामदार दूतावासको शरणमा पुगेका थिए ।
राजदूत बस्न्यातका अनुसार दूतावासको शरणमा रहेका गैरकानुनी कामदार फर्कने क्रम सुरु भएको छ । मलेसियास्थित नेपाली दूतावासले गैरकानुनी नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउने अभियान सुरु गरेपछि आइएमई मलेसियाले ५० जना अलपत्र कामदारलाई टिकक उपलव्ध गराउने बचन दिएको थियो ।

प्रतिक्रियाहरु