गाजामा भएको झडपमा पाँच इजरायली सैनिकको मृत्यु

२०७१ श्रावण १३ गते, मंगलवार

काठमाडौ । गाजाको सीमा क्षेत्रमा मङ्गलबार बिहान भएको झडपका क्रममा कम्तीमा पनि पाँचजना इजरायली सैनिकको ज्यान गएको समाचार छ ।
गाजाको सीमा क्षत्रे नजिकैबाट उनीहरु त्यसतर्फ छिर्न खोज्दा भएको झडपमा परी ती सैनिक मारिएका हुन् ।
इजरायल र प्यालेस्टाइनले नै २४ घन्टे युद्धविरामको घोषणा गरेको भए पनि सो हुन सकिरहेको छैन । हिजो र आजपनि ती क्षेत्रमा झडपहरु भएका र नागरिक हताहत भएका समाचारहरु आइरहेका छन् ।
मङ्गलबार बिहानै पनि ती सैनिक मारिएका र त्यस क्षेत्रमा झडप भएको छ । साथै इजरायलले हवाई कारबाही रोकेको भए पनि स्थलगत कारबाही भने नरोकेको बताइएको छ ।संयुक्त राष्ट्रसंघले इजरायल र प्यालेस्टाइनलाई सोमबार मात्र तत्कालै र विनाशर्त युद्धविरामका लागि आग्रह गरेको थियो । तर त्यसबमोजिक युद्धविराम भने हुन सकिरहेको छैन ।
राष्ट्रसङ्घीय सुरक्षा परिषदले युद्धविरामका लागि दुवै पक्षलाई सोमबार आग्रह गरेको हो । इजरालल र प्यालेस्टाइनको सो आक्रमण तेस्रो हप्ता प्रवेश गरिसकेको छ ।सुरक्षा परिषदले सो आग्रह गरिरहँदा इजरायलले गरेको उक्त आक्रमणको क्रममा एक हजार भन्दा बढी प्यालेस्टाइनीको ज्यान गएको जानकारी प्यालेस्टाइनले दिएको बताइएको छ ।
प्यालेस्टाइनले दिएको जानकारीअनुसार सो आक्रमणबाट सोमबारसम्ममा एक हजार ३० जनाको ज्यान गइसकेको छ । २४ घन्टे युद्धविरामका लागि दुवै पक्षले प्रस्ताव स्वीकार गरेपनि आक्रमण भने रोकिएको छैन ।
गत जुलाई ८ बाट इजरायलले गाजामा आक्रमण सुरु गरेको हो । उसले जारी राखेको आक्रमणका क्रममा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु हनुको साथै अन्य पाँच हजारभन्दा बढी घाइते भएका छन् ।
यस आक्रामक आक्रमणमा इजरायलका दर्जनौँ सैनिकको पनि मृत्यु भएको अर्काे एक समाचारमा जनाइएको छ ।
सुरुमा हवाई आक्रमण थालेको इजरायलले पछिल्ला दिनहरुमा आएर भने स्थलगत कारबाही पनि सुरु गरेको छ । सो कारबाहीका क्रममा इजरायली सेना पनि मारिएका इजरायलले जानकारी दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु