आज बाघ दिवस

२०७१ श्रावण १३ गते, मंगलवार


काठमाडौं, १३ साउन । आज जुलाई २९ तारिख अर्थात बाघ दिवस । ‘बाघलाई अहिल्यै संरक्षण गरौं’ भन्ने सन्देश साथ विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि यससम्बन्धमा विभिन्न कार्यक्रम गरिदैछ । बाघ संरक्षणमा जनचेतना बढाउन यो दिवस मनाउने गरिन्छ ।
नेपाल सरकारले सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउन २००९ देखि बाघ संरक्षणमा विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २००८ को गणनामा नेपालमा बाघको संख्या एक सय २१ थियो ।
अहिले यो संख्या बढेर एक सय ५५ पुगेको छ । एक सय वर्ष अघि सन् १९१३ मा एक लाखको संख्यामा रहेको बाघ अहिले जम्मा तीन हजार मात्र बाँकी रहेको बताइन्छ । जबकी गएको वर्ष यो संख्या तीन हजार दुई सय थियो ।
एकै वर्षमा दुई सय बाघ घटेका हुन् । बाघ घट्ने क्रम यस्तै रहिरहे आगामी दश वर्षमा विश्वबाट प्रकृतिको सुन्दर यो प्राणी लोप हुने खतरा संरक्षणविदहरुले दिएका छन् । बढ्दो शहरीकरण र मानव अतिक्रमणका कारण बाघको वासस्थान नासिँदै गएकाले यसको संख्या पनि यसरी ओरालो लागेको हो ।
बाघ घना जंगल र फराकिलो स्थानमा रहन रमाउने जनावर हो । चोरी शिकारीको कारण शिकार खोज्न खप्पिस यो जंगली जनावर आफै शिकार भइरहेको हो । नेपाल, भारत, बंगलादेश, चीन, भुटान, थाइल्याण्ड, म्यान्मार, रुस, भियतनाम, कम्बोडिया, दक्षिण कोरिया, मलेशिया र लाओस गरी १३ देशमा बाघ पाइन्छ ।
विश्वमा अहिले बंगाल, साइबेरियन, इण्डोचाइनिज, मलायन, सुमात्रान, साउथ चाइना टाइगर गरी छ प्रजातीका बाघ मात्र बाँकी रहेका छन् । सन् १९४० यतामात्रै विश्वबाट बाघका तीन उपप्रजाती लोप भइसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

कामिरिता २९औँ पटक सगरमाथा शिखरमा

२०८१ बैशाख ३० गते, आईतवार

१० शेर्पा सगरमाथाको चुचुरोमा

२०८१ बैशाख २९ गते, शनिबार

नेप्से ५ अंकले वृद्धि

२०८१ बैशाख २७ गते, बिहीबार