तलेजुको जीर्णोद्धार रोकियो

२०७० माघ २३ गते, बिहीबार

काठमाडौँ ,२३ माघ। भक्तपुर तलेजुको देवगृह भत्किने अवस्था पुगेपछि विगत १३ वर्षदेखि सुरु भएको जीर्णोद्धार कार्य अन्तिम चरणमा आएर काठको अभावले रोकिएको छ ।पुरातन्व विभाग र भक्तपुर नगरपालिकाको ५०-५० प्रतिशतको संयुक्त लगानीमा सुरु भएको जीर्णोद्धार कार्य अन्तिम चरणमा आएर काठ अभावले रोकिएको भक्तपुर नगरपालिका सम्पदा शाखाका इन्जिनियर सूर्यभक्त खर्बुजाले जानकारी दिए ।
जीर्णोद्धारका लागि पहिलो चरणमा १ करोड ३८ लाख रुपैयाँ र दोस्रो चरणमा १ करोड ३९ लाख रुपैयाँ खर्च भइसकेको छ । तेस्रो चरणमा १ करोड २२ लाख रुपैयाँको लागतमा जीर्णोद्धार गरिने बताइएको छ ।उनले भने-’जीर्णोद्धारको क्रममा यसअघि पनि पटक पटक काठ अभाव झेल्नु पर्‍यो, अहिले अन्तिम चरणमा पनि काठ अभावले नै जीर्णोद्धार रोकियो’-खर्बुजाले भने-’मुख्य काम गर्ने समयमा काम रोक्नु पर्‍यो, जति काठ आउन ढिला हुन्छ, त्यति नै जीर्णोद्धारको काममा ढिलाइ हुन्छ । र, यसमा बहुमूल्य भित्तेचित्र जोगाउन चुनौती थपिँदै जान्छ ।’
काठ खरिदका लागि पुरातत्व विभाग भक्तपुरले नगरपालिकामार्फत हेटौँडाको टिम्बर कर्पोरेसन नेपाललाई गत साउनमा नै रकम पठाए पनि अग्राखको काठ नआएपछि काम रोकिएको हो ।
पुरातत्व विभाग भक्तपुर शाखाका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले काठ खरिदका लागि २६ लाख ५५ हजार रुपैयाँ रकम पठाएको ६ महिना भइसके पनि काठ अभावले काठ नआएको बताए । काठ अभावले सम्पदा संरक्षणमा समस्या आएको उनको भनाइ छ ।
विसं २०५७ वैशाख ३१ गतेको शुभ साइत जुराएर तत्कालीन नारायणहिटी दरबारका प्राज्ञ मूलराज जोशीले दरबारको तलेजु भवानीलाई मूल चोकको दक्षिणबाट पूर्वतर्फ स्थानान्तरण गरी जीर्णोद्धार कार्य सुरु गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु