पूर्वाञ्चल महोत्सव फागुन १६ देखि

२०७० माघ १८ गते, शनिबार

काठमाडौँ । उद्योग, व्यापार, कृषि, शैक्षिक, पर्यटन, लघुउद्यम, सूचना तथा प्रविधिको वृहत प्रदर्शनी गर्ने उद्देश्यले आगामी फागुन १६ देखि २६ गतेसम्म १० दिन उदयपुरमा पूर्वाञ्चल क्षेत्रीय महोत्सव आयोजना गर्न लागिएको छ ।त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट, नेपाल सरकार वाणिज्य तथा आपूर्ति मन्त्रालय निर्यात प्रबद्र्धन समिति, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार निर्यात प्रबद्र्धन केन्द्र तथा घरेलु तथा साना उद्योग विभाग त्रिपुरेश्वर काठमाण्डौको आयोजनामा फागुन १६ देखि २६ गते १० दिन सम्म महोत्सव सञ्चालन गर्न लागिएको हो ।महोत्सव तयारीका लागि विभिन्न उपसमितिहरु गठन गर्दै आवश्यक तयारी सुरु गरिएको त्रियुगा उद्योग वाणिज्य संघका महासचिव चुडामणी कार्कीले पत्रकार सम्मेलनमाफर्त जानकारी दिए ।
महोत्सवबाट स्थानीय वस्तु तथा सेवाको बजार प्रबद्र्धन, उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन, उत्पादक र उपभोक्ताबीच सम्बन्ध अभिबृद्धी, कृषि पेशालाई व्यवसायीक रुपमा उन्मुख गराउन सहयोग, आधुनिक एवं नयाँ वस्तु विकास गर्ने अवसर सृजना, व्यवसायीक चेतना अभिबृद्धी, सूचना प्रविधि सम्बन्धी जानकारी, पर्यटकीय क्षेत्रको पहिचान गर्न सक्ने लक्ष्य लिइएको छ ।
यसैगरी रौतापोखरी मन्दिर निर्माण, रौताबाट प्याराग्लाडिङ उडान र धाप्लागमा र्याफ्टिङ्गको व्यवस्था, चौदण्डिगढीको संरक्षण र पर्यटन क्षेत्रको रुपमा विकास गर्दै वाहय पर्यटकको प्रवेशलाई प्रचार प्रसार गर्न महोत्वसले महत्वपुर्ण भुमिका निर्वाह गर्ने आयोजक त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष भरत राईले जानकारी दिए ।महोत्सवले करिब डेढ करोडको कारोबार तथा डेढ लाख भन्दा बढि दर्शक भित्राउने लक्ष्य राखिएको राईले बताए । एक सय २५ स्टल राखिने महोत्सवमा स्थानीय उत्पादन, विभिन्न कृषि सामाग्री, सूचना प्रविधि, इलोक्ट्रोनिक्स सामाग्री, हस्तकला छालाका सामाग्री, निर्माण सामाग्री, अटोमोवाइललगायत प्रदर्शनीमा राखिने छ ।
महोत्सवको आकर्र्षणका लागि औद्योगीक प्रदर्शनी तथा खरिद विक्री, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ ।महोत्सव व्यवस्थापनका लागि विभन्न उपसमितिहरु गठन गरिएको छ । जसअनुसार संघका अध्यक्ष गजेन्द्रकुमार भगतको संयोकत्वमा सर्वपक्षिय एक सय ५० जनाको मुल आयोजक समिति गठन गरिएको छ ।
त्यसैगरी महासचिव चुडामणी कार्कीको संयोजकत्वमा प्रचार प्रसार समिति, सदस्य कुमार घिमिरेको संयोजकत्वमा स्टल व्यवस्थापन समिति, कोषाध्यक्ष लक्ष्मीनारायाण श्रेष्ठको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, प्रथम उपाध्यक्ष भरतसिंह राईको संयोजकत्वमा अतिथि सत्कार समिति, सचिव कृष्ण भण्डारीको संयोजकत्वमा प्रायोजक तथा स्टल व्यवस्थापन समिति गठन गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु