पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला भोलीवाट

२०७० माघ १५ गते, बुधबार

काठमाडौं,१५माघ। नेपाल पर्यटन बोर्डले भोलि बिहीबारदेखि झापाको दमकमा तेस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला आयोजना गर्ने भएको छ । आन्तरिक पर्यटनको प्रबर्द्धन गरी ग्रामिण क्षेत्रको जीवनस्तर उकास्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेला तीन दिनसम्म सञ्चालन हुने छ ।
पूर्वाञ्चलमा पहिचान गरिएका पर्यटकीय गन्तव्यहरुको प्रचार-प्रसार तथा प्रबर्द्धन गर्ने, होमस्टे पर्यटनको प्रबर्द्धन गर्ने, पर्यटनसँग आवद्ध राष्ट्रिय एवं क्षेत्रियस्तरका संस्थाहरु सम्बन्धी जानकारी आदान-प्रदान गर्ने लगायतका उद्देश्यहरु मेलाका रहेका छन् ।
पर्यटन प्याकेजको विकास नभएसम्म नेपाली पर्यटनको स्थायी विकास नहुने हुँदा मेलामा पर्यटन प्याकेजका बारेमा जानकारी पनि प्रदान गरिने भएको छ । मेलामा दैनिक साँस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।
मेलामा देशभरिबाट ३९ वटा संघ संस्थाहरुले भाग लिएका छन् । मेलामा आउने आगन्तुकहरुलाई गोला प्रथाद्धारा पुरस्कार स्वरुप अन्तर क्षेत्रीय प्याकेज टुरको व्यवस्था गरिएको छ । देशका विभिन्न स्थानमा छरिएर रहेका र पर्यटन सम्पदाका रुपमा बाहिर आउन नसकेका सम्पदाहरुलाई प्रस्तुत गर्न मेला सफल हुने विश्वास पर्यटन बोर्डले लिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु