पाकिस्तानमा निर्वाचन अभियान सुरु

२०६९ चैत्र १५ गते, बिहीबार

इस्लामाबाद – पाकिस्तानमा आगामी मे ११ मा संसदको निर्वाचन घोषणा गरिएपछि सो निर्वाचनका लागि विभिन्न दलले चुनावी अभियान सुरु गरेका बताइएको छ।
सो निर्वाचन प्रयोजनकै लागि पाकिस्तानका राष्ट्रिय सुरक्षा अङ्गहरुले गतहप्तादेखि नै सुरक्षा व्यवस्था कडा पारिएको तथा आतङ्कवादीहरुका सम्भावित अखडाहरुमा विशेष निगरानी बढाइएको पनि बताएका थिए।पाकिस्तानमा केही वर्षयतादेखि मुस्लिम अतिवादी एवम् आतङ्ककारीहरूले सुरक्षामा चुनौती दिँदै आएका छन्। सो अनुरुप पाकिस्तान सेना र प्रहरीले त्यहाँका आतङ्कवादीका सम्भावित अखडाहरूको खोजीलाई तीव्र पार्ने जनाएको छ।तर यी सुरक्षा आश्वासनका बाबजुत पनि पाकिस्तानका प्रमुख राजनीतिक नेताहरुमा असुरक्षाको बादल भने मडारिएकै छ राजधानी इस्लामावादबाट विभिन्न सञचारमाध्यमहरुले जनाएका छन्।
फ्रान्सेली समाचार समिति एएफपीका अनुसार यसअघिका निर्वाचन अभियानमा भएका उच्चस्तरीय नेताको हत्याका कारण अहिले पनि नेताहरुमा त्यसको भूतले काम गरेको छ।सन् २००७ मा भएको आम निर्वाचनको प्रचार अभियानकै क्रममा पाकिस्तानकी पूर्व प्रधानमन्त्री तथा पाकिस्तानको एक प्रमुख दल पाकिस्तान पिपुल्स पार्टीका नेता बेनजिर भुट्टोको हत्या भएको थियो।सो समयका तुलनामा अहिले पनि पाकिस्तानको सुरक्षा व्यवस्थामा कुनै कमी आएको छैन बरु झन सुरक्षा खतरा थपिएको छ। त्यसैले अहिले सुरु भएका निर्वाचनको प्रचार अभियानमा पनि नेताहरु सशङ्कित भइ नै रहेका छन्- समाचारमा जनाइएको छ।
पाकिस्तानमा अल कायदाका लडाकूका साथै विभिन्न स्थानहरूमा अफगानिस्तानका तालिवानीको पनि प्रभाव रहिआएको छ। ती स्थानहरूमा पाकिस्तानी प्रहरी र सेनाले निगरानी राख्ने काम थालेको समाचार गत हप्ता नै आइ सकेको थियो।तर पनि सुरक्षाको सुनिश्चिता भने हुन नसकिरहेका समाचारहरु पनि आइ नै रहेका सो समाचारमा जनाइएको छ। पाकिस्तानमा विगतको सो हत्याको समयमा भन्दा अथवा विगत पाँच वर्षको भन्दा यतिखेर तालिवानी क्रियाकलापहरुमा पनि निकै बढोत्तरी भएको छ।त्यसैगरी यो वितेको पाँचवर्षमा पाकिस्तानी अल्पसङ्ख्यक जातीय समुदाय सिया मुस्लिमहरुको धार्मिक असहिष्णुतामा पनि निकै नै बढोत्तरी भएको छ। यो पाँच वर्षयता पाकिस्तानको इतिहासमा नै सबैभन्दा बढी हत्याका घटना सो समुदायका कारण भएका बताइएको छ।
त्यसैगरी बलुचिस्तान क्षेत्र केही वर्षमात्र यता आएर निकै हिंसा मच्चिने क्षेत्रका रुपमा विकास भएको छ। सो क्षेत्रमा प्राय दिनहूँजसो हत्याका घटना भइरहेका बताइन्छ।पाकिस्तानका राष्ट्रपति असिफ अली जरदारीले गतहप्तामात्र पाकिस्तानमा मे ११ मा निर्वाचन हुने घोषणा गरेका छन् । पाकिस्तानको ६६ वर्षको इतिहासमा पहिलो पटक प्रजातान्त्रिक रूपमा निर्वाचित नागरिक सरकारले आफ्नो कार्यकाल पूरा गरी अर्को निर्वाचन गर्दैछ।सो आगामी निर्वाचनको व्यापक प्रचार पनि भएको छ। राष्ट्रपति जरदारीले आफ्नो गठबन्धनलाई पाँच वर्षका लागि स्थिर राख्न सफलता प्राप्त गरेकाले पनि वर्तमान सरकार र आगामी निर्वाचनको चर्चा चलेको हो।विश्लेषकहरु भने पाकिस्तानकी पूर्व प्रधानमन्त्री भुट्टोको हत्या भएकोले उनीप्रतिको सान्त्वना तथा स्वरुप पिपिपि पार्टीले संसदमा बहुमत प्राप्त गर्न सफल थियो भन्ने गरेका छन्।
बेलायती उपनिवेशबाट सन् १९४७ को अगष्ट १४ मा स्वतन्त्र भएको तथा भारतसँग पृथक भएको पाकिस्तानले तीनपटक सैनिक विद्रोह भोगेको छ। त्यहाँका विगतका नागरिक सरकार पनि सैनिकको शिकार भएका थिए।चारजना सैनिक शासकले यस मुलुकमा शासन चलाएका छन्। एक निर्वाचित नागरिक सरकारले अर्को निर्वाचित नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्न लागेको यो पहिलोपटक हो।तालिवान आक्रमण तथा अल्पसङ्ख्यक सिया मुसलमान समूहमाथि हिंसा भइरहेको अवस्थामा निर्वाचनको सुरक्षाका विषयमा आशङ्का गरिएको छ। पाकिस्तान आफैँमा पारमाणविक हतियारयुक्त मुलुक हो र यसको जनसङ्ख्या १८ करोड रहेको बताइएको छ।
पाकिस्तानी सेनाका एकजना वरिष्ठ अधिकारीले भने- हामी हाम्रा सैनिक कारबाहीहरूलाई निकै नै तीव्रताका साथ अघि बढाउने छौँ किनभने शान्तिपूर्ण रुपमा निर्वाचन गर्नु हाम्रो लागि चुनौतीपूर्ण हुनेछ।पाकिस्तानको खैबर क्षेत्र र अरु केही जातीय अल्पसङ्ख्यकहरूको बसोबास रही आएका क्षेत्रहरूमा हाम्रो ध्यान केन्द्रित हुनेछ- उनले भने। समाचारहरुमा ती क्षेत्रहरुमा पनि सुरक्षाका कडा मापदण्डहरु अपनाउने काम भइरहेको बताइएको छ।
यसैबीच पाकिस्तानको आगामी निर्वाचन निकै नै प्रतिश्पर्धात्मक हुने अुनमान गर्न थालिएको छ। पाकिस्तानका पूर्व राष्ट्रपति एवम् सैनिक शासक परवेज मुसर्रफ पनि निर्वाचनका लागि स्वदेश फर्किसकेका छन् ।पाकिस्तानका तालिवानीहरुले हत्यागर्ने धम्की दिएको भएपनि निर्वाचनमा भागलिन कै लागि उनी पाकिस्तान पुगेको समाचार यसअघि नै आइसकेको छ।पाकिस्तानमा हुन लागेको आम निर्वाचनमा भागलिने उद्देश्यले उनले स्वदेश फर्किने घोषणा गरेलगत्तै तालिवानीहरुले टेलिफोनमार्फत उक्त धम्की दिएका समाचारमा जनाइएको छ।उनले यसअघि पनि पाकिस्तानमा रहँदा सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा रहेका कट्टरपन्थी मुस्लिमहरुले तीन पटकसम्म आक्रमण गरेका थिए। तर उनी ती हरेक आक्रमणबाट बचेका थिए।
त्यसैगरी पाकिस्तानमा प्रमुख प्रतिपक्षी दलका नेता नवाज सरिफले गत सोमबारदेखि नै पाकिस्तानमा आम निर्वाचनका लागि अभियान सुरु गरिसकेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु