तिब्बतबाट सरसामान ल्याइदै

२०७१ भाद्र १५ गते, आईतवार


काठमाडौँ , १५ भदौ । व्यापारीले इन्द्रावती करिडोर हुँदै चीनको तिब्बतबाट सरसामान ल्याउन थालेका छन् ।सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट अरनिको राजमार्गमा अवरोध सिर्जना भएपछि उनीहरुले तिब्बतबाट सरसामान ल्याउन थालेका हुन् ।भोताङ गाविसमा पर्ने जुगल हिमाल शृङ्खलामा रहेको पासबाट अहिले सामान वारपार हुन थालेको भोताङका स्थानीयले बताएका छन् । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्ने जुगल हिमाल क्षेत्रबाट अहिले जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसारसमेत हुन थालेको उनीहरु बताउँछन् ।
हेलम्बुबाट आमायाङ्ग्री र पाँचपोखरी हुँदै जुगलफेदीबाट तीन दिन हिँडेर हिमालपारि चिनियाँ राजमार्गमा पुग्न सकिने बताइन्छ । आफ्नो नाम नबताउने एक भोताङवासीका अनुसार सो क्षेत्रबाट कस्तुरी र जडीबुटी चीनतर्फ गइरहेको छ भने चीनबाट पनि महँगा सामान र सरकारद्वारा बन्देज गरिएका सामान आयात भइरहेको छ ।
सो रुट हुँदै आपराधिक समूहले चोरी–सिकारीका बहुमूल्य सामान उपत्यका भित्र्याउन सक्ने आशङ्का गरिएको छ ।इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाका अनुुसार आफूकहाँ हालसम्म त्यस्तो सूचना नआएको तर चोरी–तस्करी हुनसक्ने भएका कारण लाङटाङ र थाङपालकोट मानेखर्क क्षेत्रमा रहेका सुरक्षा पोस्टहरुलाई विशेष निगरानी राख्न सचेत गराइसकिएको छ ।
उहाँका अनुसार उच्च हिमाली क्षेत्रमा पर्याप्त चेकपोस्टको अभाव रहेकाले सुरक्षा बन्दोबस्तीको समस्या परेको छ । स्मरणीय छ, अरनिको राजमार्ग निर्माण हुनुअगाडि उपत्यकाबाट मेलम्ची रुट हुँदै कुती र केरुङतर्फको व्यापार चल्ने गथ्र्यो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

ब्रोकर कमिशन घट्ने

२०८१ बैशाख २४ गते, सोमबार