आशापुरीमा भक्तजनको ओइरो

२०७२ श्रावण १० गते, आईतवार

काठमाडौँ, १० साउन । डोलेश्वरको प्रसिद्धि तथा जगाती–डोलेश्वर–आशापुरी सडक विस्तार र कालोपत्र भएसँगै भक्तपुरको दक्षिण पूर्वमा रहेको आशापुरी महादेव मन्दिरमा भक्तजनको ओइरो लाग्न थालेको छ ।
केही वर्षअघिसम्म ओझेलमा रहेको आशापुरी महादेवमा हाल दैनिक सयाँै भक्तजन आउने गरेको स्थानीयवासीको भनाइ छ । विशेषगरी डोलेश्वर महादेवलाई केदानाथको शिर घोषणा गरिएपछि त्यहाँ आएका भक्तजन डोलेश्वरबाट चार किमी परको आशापुरीसम्म आउन थालेको स्थानीय राजेन्द्र तामाङले बताउनुभयो । अझ साउनको सोमबार हजारौँ भक्तजन आउने गर्छन् ।
साविक सिपाडोल–४, हाल सूर्यविनायक नगरपालिका–७ मा पर्ने आशापुरी महादेव मन्दिर भक्तपुर र काभे्रको सिमानामा जगाती चोकबाट १० किमी दूरीमा पर्छ जहाँ जगाती चोकबाट सवारी साधनमा आधा घन्टा र पैदल हिँड्दा करिब दुई घन्टा लाग्छ । त्यसो त आशापुरी जाने पहिलेको मुख्य बाटो काभ्रेको साँगा चोकबाट दक्षिणतर्फको हो तर त्यसकोे स्तरोन्नति नहुँदा अलि अप्ठ्यारो भएको स्थानीयवासी तामाङले बताउनुभयो ।
आशापुरी महादेव नैचाल र काँक्रेबारी गरी दुई नदीको सङ्गमस्थलमा छ । चारैतिर पहाडले घेरिएको यो स्थल प्राकृतिक दृष्टिले अति रमणीय छ । मन्दिरको अग्रभाग दक्षिणतर्फ फर्किएको छ । मन्दिरभित्र विराजमान आशापुरेश्वर महादेवको शिवलिङ्ग सानो कालो पत्थरको छ जुन अति सुन्दर देखिन्छ । शिवलिङ्ग वरिपरि बेरिरहेको तामाको नागको आभूषणले मूर्तिलाई थप आकर्षित बनाएको छ । मुख्य मन्दिर वरिपरि गणेशलगायत विभिन्न देवीदेवताका मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरको ठीक अगाडि उत्तरतर्फ फर्किएको पञ्चमुखी धारा (पाँच ढुङ्गेधारा) छन् जहाँ २४सै घन्टा कलकल ध्वनिका साथ पानी बग्ने गर्छ ।
मन्दिरको प्रसिद्धि र भक्तजनको ओइरोसँगै आशापुरी क्षेत्रमा भौतिक पूर्वाधारको समेत विकास र विस्तार हुन थालेको छ । मन्दिर वरपरका पुराना सत्तल तथा पाटीको मर्मत तथा पुनःनिर्माण हुन थालेको छ । सुरक्षाका लागि प्रहरी चौकीको स्थापना गरिएको छ । मन्दिरमा व्यवस्थित पूजापाठका लागि २०५४ सालमा श्री आशापुरेश्वर संरक्षण समिति गठन गरिएको छ । हाल समितिले मन्दिरको व्यवस्थापन, नियमित पूजापाठ, मन्दिर वरपरको भौतिक पूर्वाधारको विकास र विस्तारका कार्य गरिरहेको समितिका अध्यक्ष टुल्कु लामाले जानकारी दिनुभयो ।
आशापुरी महादेवको वास्तविक नाम आशापुरेश्वर महादेव हो । आशापुरेश्वरबाट अप्रभंश भई बोलीचालीमा आशापुरी हुन गएको इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले बताउनुभयो । विशेषगरी मनले चिताएको इच्छाआकाङ्क्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किंवदन्ती पाइनेसमितिका सदस्य एवम् मन्दिर व्यवस्थापन समितिका संयोजक वीरबहादुर तामाङले बताउनुभयो । उहाँले आशापुरेश्वरमा विशेष गरी सन्तान सुख र छोरा नभएकाहरुले छोराको प्राप्तिका लागि पूजा आराधना गर्ने गरेको बताउनुभयो ।
समितिले केही समयअघि भागवत पुराण सञ्चालन गर्दै अर्थ सङ्कलन गरेको छ । सो रकम र जिविसलगायत निकायबाट प्राप्त सहयोगसमेतबाट मन्दिर वरपरको भौतिक पूर्वाधार विकास गरिएको छ । मन्दिरमा काभ्रे भैँसेपाटी बासटोलका सत्याल पुजारी छन् । समितिले साउन महिनाको मेलामा उठेको रकमको एक तिहाइ पुजारीलाई दिने र दुई तिहाइ मन्दिर व्यवस्थापन खर्च गर्ने गरेको बताइएको छ ।
आशापुरी महादेव धार्मिक र सांस्कृतिक दृष्टिले बढी नै महत्वको भएको इतिहास तथा संस्कृतिविद् डा श्रेष्ठले जिकिर गर्नुभयो । उहाँका अनुसार आशापुरी महादेव लिच्छवीकालीन हो जुन शिवपुराणमा वर्णित ६४ शिवलिङ्गमध्ये एक हो । साउन महिनामा हिन्दू नारीहरु पछिल्लो समय भक्तपुरका मनले चिताएको पुग्ने आशापुरी, ‘केदारनाथको शिर’ डोलेश्वर र नेपालकै अग्लो कैलाशधाम जाने क्रम बढेको छ । – लक्ष्मी गारू/रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु