आज विश्व रामसार दिवस

२०७२ माघ १९ गते, मंगलवार

काठमाडौ, १९ माघ । आज विश्व रामसार दिवस । सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार सहरमा भएको अन्तर सरकारी महासन्धिले अन्तर्राष्ट्रिय महत्वका सीमसार क्षेत्रको संरक्षणमा केही प्रावधान राखेकाले यो महासन्धिलाई रामसार महासन्धि भनिन्छ । त्यही दिनको सम्झनामा हरेक वर्ष फेब्रुअरी २ मा विश्व रामसार दिवस मनाउने गरिएको छ ।
नेपालले सन् १९८७ मा कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्र घोषणा गरी नेपाल रामसार महासन्धिमा प्रवेश गरेको हो । नेपालमा अहिलेसम्म सोलुखुम्बुको गोक्या, रसुवाको गोसाइँकुण्ड, कपिलवस्तुको जगदीशपुर, मुगुको रारा, कैलालीको घोडाघोडी, डोल्पाको से–फोक्सुन्डो, इलामको माइपोखरी र चितवनको बीसहजारीताल रामसारमा सूचीकृत भइसकेका छन् । विश्वभर अहिलेसम्म १ सय ६९ देशका दुई हजार २ सय २५ सीमसार रामसारमा सूचीकृत छन् ।
यसैक्रममा कास्कीका नौ वटा ताललाई एउटै समूहमा राखेर रामसारमा सूचीकृत गरिएको छ । जैविक विविधताको निश्चित मापदण्ड पूरा गरेका कास्कीका फेवा, रुपा, बेगनास, खास्टे, कमलपोखरी, गुइडे, नेउरेली, दिपाङ र मैदीताललाई जेनेभास्थित रामसारको सचिवालयले सामूहिकरुपमा रामसारमा सूचीकृत गरेको हो । रामसारमा सूचीकृत भएको औपचारिक प्रमाण भने मंगलबार विश्व सिमसार दिवसको अवसरमा पोखरामा हुने कार्यक्रममा वितरण गरिने पोखरा उपत्यका ताल संरक्षण समिति कास्कीका संयोजक तथा कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले बताए ।
रामसारको सचिवालयबाट आएका प्रतिनिधीले औपचारिक प्रमाणपत्र प्रदान गरेसँगै कास्कीका नौ वटा ताल रामसारमा सूचीकृत हुनेछन् । कास्कीका यी तालका पानीले ओगटेको क्षेत्र ९ सय २४ हेक्टर छ । यी तालको जलाधार क्षेत्र र तालसँग अन्तर सम्बन्धित सेती जलाधार क्षेत्रसमेत गरी पोखरा उपत्यकाका तालको सञ्जालले ओगटेको कुल क्षेत्रफल दुई हजार ६ सय १० हेक्टर हुन आउँछ ।
वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव विजयराज पौडेलले रामसार सूचीमा सूचीकृत भएसँगै यी तालको संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताए । कास्कीका ताल सूचीकृत भएसँगै नेपालमा रामसारको संख्या १० पुगेको छ । पोखराका नौ ताललाई एकै समूहमा राखी रामसारमा सूचीकृत गरिनु विश्व मै अनुपम नमुना भएको प्रकृति र प्राकृतिक स्रोतको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ (आइयुसिएन) का नेपाल प्रतिनिधि यमबहादुर मल्लले बताए ।
सरकारले यस वर्षको रामसार दिवस ती तालको रामसारमा सूचीकृत गरी मनाउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता डा. महेश्वर ढकालले जानकारी दिए । उनले रामसार सूचीमा सूचीकृत भएसँगै कास्कीका तालले अन्तर्राष्ट्रिय पहिचान प्राप्त गर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु