आज छठ पर्व

२०७२ मंसिर १ गते, मंगलवार

काठमाडौं, १ मंसिर । आज अस्ताउँदै गरेको सूर्य तथा षष्टी मातालाई अर्घ अर्पण गरि छठ पर्व मनाईंदै छ । छठ पर्वको तेस्रो तथा मुख्य दिन सूर्य देवतालाई ठेकुवा, भुसवा, केरा, नरिवल, अदुवा, फलफुल, मिठाइ सहितका प्रसादहरु अर्पण गरिन्छ भने भोलि चोथौ तथा अन्तिम दिन उदाउँदै गरेको सूर्य र षष्टी मातालाई अर्घ दिई छठ सम्पन्न गरिन्छ । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ । जनकपुरको ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीहरुलाई दुलही झैं सिंगारेर छठ पर्व मनाईंदै छ ।
उता, सप्तरीस्थित सप्तकोसी व्यारेजसहितका पोखरी र जलाशयहरुमा पनि छठको भव्य तयारी गरिएको छ । सदरमुकाम राजविराजस्थित भगवती, कल्टुदास, तुरन्ती लगायतका पोखरीमा छठको रमझम छाएको छ ।
वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको रमझम छाएको छ । छठ पर्व नवलपरासीमा पनि धुमधामसँग मनाईदैछ ।
मिथिलाञ्चलको आस्थाको रुपमा मानिने छठ पर्व तराईका जिल्लाका साथै राजधानीमा समेत धुमधामका साथ मनाईंदै छ । काठमाडौंमा रानीपोखरी, कमलपोखरी, गौरीघाट, टेकु दोभानलगायतका स्थानमा छठ मनाईंदैछ ।
आदिकालमा सति अनुसूयाले रोगग्रस्त पतिलाई निको हुनका लागि भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग जोडिएको छ ।
त्यसैगरी महाभारतकालमा द्रौपतिसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।
छठ मनाउँदा दुःखबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने विश्वास छ । छठ मनाउन सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

आगामी साता वर्षाको सम्भावना

२०८१ बैशाख २१ गते, शुक्रबार

कान्ति लोकपथ बन्द

२०८१ बैशाख २१ गते, शुक्रबार

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार