ताइवानमा ७.७ रेक्टर स्केलको भूकम्प

२०८० चैत्र २१ गते, बुधबार


काठमाडौँ । ताइवानको पूर्वी क्षेत्रमा बुधबार बिहान ७.७ रेक्टर स्केलको डरलाग्दो भूकम्प गएको छ। भूकम्पीय घटनाले सम्पूर्ण टापुलाई हल्लाएको थियो । भूकम्पका कारण आइल्याण्डका सम्पूर्ण क्षेत्रमा सुनामीको खतरा रहेको बताइएको छ । बुधबार, अप्रिल ३ मा पूर्वी ताइवानको हुआलिएनमा आंशिक रुपले ढलेको भवनहरु देखिएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
भूकम्पका कारण भत्केका भवनहरुभित्रै सयौं फसिरहेको बताई पनि हताहतीको खबर भने अझै केही आएको छैन ।
अमेरिकाको भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलिएन सिटीबाट १८ किलोमिटर दक्षिणमा ३४.८ किलोमिटरको गहिराइ भएको जनाएको छ ।
ताइपेईको भूकम्प विज्ञान केन्द्रका निर्देशकले अन्तर्राष्ट्रिय मिडियालाई भूकम्प २५ वर्ष यताको सबैभन्दा शक्तिशाली भएको बताएका छन् ।
ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी र यसको नजिकको अन्य कारखानाहरुले पनि बुधबारदेखि नै कारखाना क्षेत्र खाली गरेका छन्। एप्पल इंक र एनभिडिया कर्पको मुख्य अनुबन्ध चिप निर्माता टिएसएमसीले केही क्षेत्रहरूबाट कर्मचारीहरूलाई अन्यत्र सारेको छ । -एजेन्सी

प्रतिक्रियाहरु