उदारवादकाे अन्त्य नै वर्तमान सङ्कटकाे समाधान

२०८० चैत्र ११ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले उदारवादकाे अन्त्यले नै अहिलेको सङ्कटकाे समाधान भएकाे बताएका छन् । शनिबार जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले झापामा आयाेजना गरेकाे ‘वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसकाे दुष्प्रभाव’ विषय अन्तरक्रियामा बोल्दै अनिलले उदारवादकाे अन्त्य र समाजवादकाे स्थापना नै वर्तमान सङ्कटकाे समाधान भएकाे बताएका हुन् ।
नेपालकाे पञ्चायत सङ्कटमा परेपछि अमेरिकनलाई गुहारेर तत्कालिन अर्थमन्त्री प्रकाश चन्द्र लाेहनीले नीतिगत रूपमा देशलाई उदारवादतिर डाेर्याएका र यसकाे कार्यान्वयन बहुदलपछि नेपाली कांग्रेसका अर्थमन्त्री रामशरण महतले गरेका कारण अहिलेकाे सङ्कट आएकाे बताए ।
अमेरिकाले सुरू गरेकाे उदारवाद अहिले नमानेकाे भन्दै उनले नेपालले मानिरहन आवश्यक नभएकाे बताए । नेपालकाे विकास नहुनु र आर्थिक राजनीतिक रूपमा सङ्कट पैदा हुनु भनेकाे उदारवादकाे परिणाम हाे । अहिले भारत, अमेरिकाले उदारवाद मानिरहेको छैन । उनीहरूलाई सङ्कट पर्दा उदारवाद मान्नेहरूले सुरू गरेकाे उदारवाद हामीले किन मान्ने ? यसकाे अन्त्य किन नगर्ने ‌।’
उनले नेपालमा बजार विविधिकरण गर्दै उदारवादकाे अन्त्य गर्नुपर्ने बताए ‌‌ । ‘परनिर्भरता अर्थतन्त्रले देशमा सङ्कटमा पर्याे, अन्तर्राष्ट्रिय व्यापार बढाउन भारतकाे निर्भरता ताेडेर चीनका नाकाहरू खाेल्नुपर्छ।’, उनले भने, ‘त्यसका लागि नेपालले नीतिगत रूपमा पहल लिनुपर्छ । चीनबाट पशु चाैपाया खरिद गर्नका लागि कानून छैन ‌। यस्ता थुप्रै कानून बनाएर भारतकाे परनिर्भरता अन्त्य गर्नुपर्छ ।’
नेपालले श्रम र कच्चा पदार्थ बेचिरहेकाे भन्दै त्यसले देश उभाे नलाग्ने बताए । ‘नेपालले देशका लागि नभई नहुने युवालाई विदेशमा बेचिरहेको छ, नेपालकाे कच्चा पदार्थकाे रुपमा रहेकाे विद्युत बेच्न खाेज्दैछ ।’, उनले भने, ‘श्रम र कच्चापदार्थ बेच्ने कुनैपनि देश उभाे लागेकाे छैन । नेपाल पनि उभाे लाग्दैन ।’
यसैगरी , सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेपाल अहिले शक्तिशाली देशहरूको आपसी शक्ति संघर्ष र भू-राजनीतिको चपेटामा परेकोले समस्या समाधानमा सहकार्यको दायरा बढाउनुपर्ने बताए ।
उनले देशको अहिलेको आर्थिक संकटले मिडिया क्षेत्रमा गम्भीर नकारात्मक प्रभाव परिरहेको बेला यसले नागरिकको आवाज र अधिकारसमेत कमजोर पारेको भन्दै संकटको यो परिस्थितिमा वामपंथी, कम्युनिस्ट, देशभक्त र सच्चा लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य जरुरी रहेको बताए ।
नेता सुमनसिंहले नेपालका हरेक परिवर्तन र आन्दोलनमा अग्रमोर्चामा रहेर अगुवाइ गरिरहेका पत्रकारहरुको जीवन दिनप्रतिदिन असहज भएको तर केही सिमित व्यक्तिहरुको आर्थिक हैसियत रातारात फेरिएको भन्दै आफुहरु यो अवस्था परिवर्तनका लागि लडिरहेको बताउदै भने-“देशको संविधानमा समाजवाद उन्मुख भनियो, सबै पार्टीहरुले समाजवादी एजेन्डामा भोट पनि मागे तर यसले आम जनता र पत्रकारहरुलाई सडकमै छोड्यो, उनीहरुका समस्या समाधान भएनन् । अब समाजवाद उन्मुख मात्रै होइन, साच्चिकै समाजवाद स्थापनाको दिशामा अगाडि बढ्नुपर्छ ।”

नेता सुमनसिंहले मिडियामा देखिएका समस्या र सामाग्रीप्रतिको अविश्वसनियताबारे पत्रकारहरूले पनि आत्मसमिक्षा गर्नुपर्ने बेला आएको भन्दै मिडियामा देखिएको आर्थिक संकटको जुन दुस्प्रभाव छ, त्यसको प्रत्यक्ष सम्बन्ध राजनीति र व्यवस्थासंग जोडिएकोले अब नेपाली विशेषताको समाजवादले मात्रै विद्यमान संकटको दिगो समाधान दिने दाबी गरे ।
कार्यक्रममा अनिल सीले ‘वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसकाे दुष्प्रभाव’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ‌‌‌‌। कार्यपत्रमा विभिन्न सङ्घ, संगठनका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए । कार्यक्रमकाे अध्यक्षता जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेरबहादुर विश्वकर्माले थिए भने सचिवालय सदस्य प्रविन अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई सचिवालय सदस्य शाेभराज बरालले स्वागत मन्तव्यमार्फत स्वागत गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका काेशी प्रदेश सदस्य तथा प्रेस सेन्टर काे केन्द्रीय सदस्य लिलाराज झापाली, प्रेस युनियनका काेसी प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र, निरौला, मिडिया एक्सन नेपालका झापा अध्यक्ष नरेन्द ढकाल, महासंघका झापा शाखाका कार्यवहाक अध्यक्ष केशव भट्टराइ, प्रेस चाैतारीका जिल्ला उपाध्यक्ष प्रदिप परियार, फाेनिज झापाका अध्यक्ष भूमिका सुब्बा, संचारिका समूहकी अध्यक्ष लिला अनमाेल लगायतकाे उपस्थिति थियाे । साथै, कार्यक्रममा नेकपा केन्द्रीय सदस्य सुमनसिंह सीले पनि आफ्नाे धारणा राखेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु