राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चारजना नियुक्त

२०८० चैत्र ८ गते, बिहीबार

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले नेपाल प्रशासन सेवा सामुहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा श्री चुणामणि पौडेललाई बढुवा गर्ने निर्णय गरेको बताइन्।
प्रवक्ता शर्माका अनुसार आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय यस्तो छ – ‘नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली ७ जना र नेपाली ३ जना गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने।
नेपाल प्रशासन सेवा सामुहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा श्री चुणामणि पौडेललाई बढुवा गर्ने।
राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, काठमाडौं, डा. कुशेन्द्रबहादुर महत, जुम्ला र प्राध्यापक शिवराज अधिकारी, पाल्पा र डा. अरनिकोकुमार पाण्डे, ललितपुरलाई नियुक्ति गर्ने।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु