समाजवादी मोर्चालाई गति दिने सहमति

२०८० चैत्र ७ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी , प्रवक्ता प्रकाण्ड सी र प्रधानमन्त्री प्रचण्डबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा पछिल्लो समय फेरिएको सत्ता गठबन्धन र त्यसले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा परेको प्रभावको बिषयमा छलफल भएको बताइएको छ । छलफलमा पछिल्लो सत्ता गठबन्धनले देशको स्वाधिनता , क्रान्ति र परिवर्तन चाहने राजनीतिक दल , नेता र आमजनता उत्साहित भएको र दलाल , प्रतिक्रान्तिकारी शक्तिमा घवरावट पैदा भएको र उत्तेजित भएको विश्लेषण गरिएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा राष्ट्रिय समस्या हल गर्न सरकारले आफ्नो कार्यलाई प्रभावकारी बनाउनु पर्ने बिषयमा समेत छलफल भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्तामा छिट्टै समाजवादी मोर्चाको बैठक बसेर कार्यक्रम अगाडि बढाउने बिषयमा समेत सहमति भएको बताइएको छ।
यसैगरी, उक्त भेटवार्ताको अन्तिम समयमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पुगेको र ओलीसहितका नेताहरुबीच पछिल्लो समय बनेको सत्ता गठबन्धन र देशको वर्तमान राजनीतिक बिषयमा गहिरो छलफल भएको बताइएको छ।
स्मरणीय छ, गत असार ४ गते सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए भने गत फागुन ६ गते, आईतवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकले महासचिव विप्लव सीलाई समाजवादी मोर्चा नेपालको संयोजक तोकेको थियो ।
उक्त मोर्चाको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।

प्रतिक्रियाहरु