अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाए

२०८० फाल्गुन ३० गते, बुधबार


काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरूले चैत महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार फागुनको तुलनामा चैत महिनामा व्यक्तिगत मुद्दतिको औसत ब्याजदर ०.५ प्रतिशत विन्दुले घटेको छ । फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ । एनआईसी एसिया बैंकले भने फागुनको तुलनामा चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर बढाएको छ । अनर्गल प्रचारका कारण सो बैंकबाट केही निक्षेप झिकिएपछि बैंकले तरलताको सहज व्यवस्थापन गर्न ब्याजदर बढाएको देखिन्छ । सो बैंकले चैतदेखि लागू गर्नेगरी व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर सबैभन्दा धेरै ८..५४८ प्रतिशत छ ।
बैंकहरूले व्यक्तिगत मुद्दतीमा जति ब्याजदर तोकेका छन्, संस्थाहरुलाई त्यसको १ प्रतिशत विन्दु कम हुन्छ । प्रभु र ग्लोबल आईएमईले फागुनकै दरलाई निरन्तरता दिएका छन् भने बाँकी १७ बैंकले घटाएका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जा प्रवाह न्यून भएसँगै बैंकहरुले ब्याजदर घटाउँदै लगेका छन् ।
माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव १५ प्रतिशतसम्म थियो । फागुनमा भने सोही प्रकृतिको निक्षेपमा अधिकतम ब्याजदर नै ८.५० प्रतिशतमा झरेको थियो । चैतका लागि एनआईसी एसियाबाहेक सबै बैंकको व्यक्तिगत मुद्दतीको ब्याजदर ७.७५ प्रतिशतभन्दा तल झरेको छ ।
बैंकहरुले गत साउनबाट निक्षेपको ब्याजदरमा गरेको भद्र सहमति खारेज भएपछि आफ्नो स्वच्छ प्रतिस्पर्धात्मक रुपमा तरलता आवश्यकता अनुसार ब्याजदर प्रकाशित गर्न थालेका हुन् । बढी अवधिको मुद्दति निक्षेपमा बढी र छोटो अवधिको मुद्दति निक्षेपमा कम ब्याजदर रहेको छ ।
व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घटाउँदै जाँदा बचत र कल निक्षेपको ब्याजदर पनि स्वतः घट्छ । राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । कल निक्षेपमा बचतको न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याज दिन पाइने व्यवस्था छ । बैंकले लिने सबै प्रकारका निक्षेपको ब्याजदर घटेपछि समग्रमा आधार दर नै घट्न जान्छ र कर्जाको ब्याजदर पनि घट्छ ।
ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताले मुद्दति निक्षेप नवीकण नगर्ने र बचतमा पैसा राख्दा बैंकहरूको मुद्दति निक्षेपको हिस्सा घटेर बचतको बढ्न लागेको छ । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी कर्जा चाहेजति जान नसकेको र अधिकतम तरलता भएकोले ब्याजदर घट्दो क्रममा नै रहेको बताउँदै भने -। ‘निक्षेप बढीरहेको छ, कर्जा सोअनुसार प्रवाह भइरहेको छैन, यस्तोमा ब्याजदर घट्नै नै देखिन्। ‘

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु