गाजा क्षेत्रमा भोकमरीको समस्या विकराल

२०८० फाल्गुन २२ गते, मंगलवार

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले हमास नियन्त्रित क्षेत्र गाजामा बालबालिका भोकमरीको शिकार भइरहेको प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा गाजाको अल अवडा र कमल अडवान अस्पतालका १० जना बालबालिकाको हालैका दिनमा भोकमरीका कारण मृत्यु भएको र सयौं भोकमरीको शिकार भइरहेको भन्दै भविष्यमा अनिकाल आउन सक्ने चेतावनी दिएको छ ।
डब्ल्युएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयसका अनुसार गाजाका अधिकांश अस्पताल ध्वस्त भइसकेको र ती अस्पतालहरुमा उपचाररत बालबालिकासहित गाजाका अधिकांश बालबालिका कुपोषण र भोकमरीको शिकार हुने गरेका छन् ।
गाजामा हाल कुपोषण, भोकमरी, इन्धन र खाद्यान्न अभावमा सर्वसाधारण पिल्सिएको भन्दै त्यहाँको स्थिति भयावह रहेको प्रतिवेदनमा औंल्याइएको छ । गाजामा ९० प्रतिशत भवनहरु ध्वस्त हुँदा हजारौं सर्वसाधारण खुला आकाशमुनि बस्न बाध्य भएको जनाइएको छ ।
हाल गाजाका ५ लाख ७६ हजार मानिसहरु खाद्य असुरक्षाको विनाशकारी स्तरको सामना गर्न बाध्य भएको पनि प्रतिवेदनमा उल्लेख छ । इजरयाल र हमासबीच गत अक्टोबरदेखि जारी युद्ध नरोकिँदा आगामी दिनमा गाजाका आधा जनता भोकभोकै मर्ने डब्ल्युएचओको दाबी छ । -एजेन्सी

प्रतिक्रियाहरु