‘ठूला भनिएका मिडियाहरु देशलाई, जनतालाई दु:ख पर्दा बोल्दैनन ‘

२०८० माघ २२ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य तथा जनपत्रकार सङ्गठनका फ्र्याक्सन इन्चार्ज अनिल सी ले मिडिया क्षेत्रमा निश्चित वर्गको कब्जा रहेकाले ठूला भनिएका मिडियाहरु देशलाई, जनतालाई दु:ख पर्दा नबाेलेकाे बताएका छन ।जनपत्रकार संगठन नेपालले आइतबार काठमाडौंमा आयाेजना गरेको नेपालकाे आमसञ्चार क्षेत्र: विद्यमान समस्या र अबको गन्तव्य विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
नेता अनिल सीले देशलाई, जनतालाई दु:ख पर्दा साना माेफसलका मिडियाले लडिरहेकाे र बाेलिरहेकाे बताउदै नेपालको मिडिया क्षेत्रमा पनि पूँजीपति वर्गकै वर्चस्वका कारण प्रेस जगत स्वतन्त्र हुन नसकेको बताए ।
उनले मिडिया हाउसका सम्पादक तथा पत्रकारहरुले जनपक्षीय पत्रकारिता गरेकै कारण उनीहरुले हट्नुपर्ने अवस्था रहेको बताउदै भने- “देशको राष्ट्रियता र जनजीविकासँग जोडिएका विषयमा साना मिडियाले नै बाेलिरहेका छन् उनीहरूको भूमिका सकारात्मक रहेको छ।’
नेता अनिल सीले पत्रकारहरुको छाता संगठनको रुपमा रहेको पत्रकार महासंघमा पनि ठूला भनिनेहरुको उपस्थितिले श्रमजीवी पत्रकार र साना मिडियाहरु पाखा लाग्ने अवस्था सिर्जना भएको बताए । उनले विदेशी उदारवादले सबैको भविष्य पिल्सिएकाे बताउदै बाेल्न दिने तर खान नदिने जुन उदारवाद छ यो उदारवादलाई अन्त्य गरि सबैले भन्ने गरेको समाजवादमा ल्याउन अब भूमिका खेल्न आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर बिश्वकर्मा `दर्शन´ ले नेपाल पत्रकार महासंघको पुनर्संरचना हुनुपर्ने बेला आएको बताए । उनले नेपाल पत्रकार महासंघले आफ्नो स्थापना कालदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सकारात्मक योगदान गर्दै आएको भएपनि वर्तमानमा महासंघको संरचना र कार्यशैली कर्मकाण्डी र परम्पराबादी मात्रै भएको भन्दै आगामी २७ औं महाधिवेशनको प्रमुख मुद्दा नै महासंघको व्यापक पुनर्संरचना हुनुपर्ने बताए।”महासंघले बिगतमा निकै राम्रा काम र योगदान गरेको छ यसलाई हामीले स्मरण गर्नैपर्छ, तर अहिले यो राजनीतिक दलहरूको प्रतीछाया जस्तो भयो,श्रमजीवी पत्रकारहरूको पेशागत हकहितको आन्दोलन र नीति निर्माणमा केन्द्रित हुने भन्दा पनि राजनीति भागबण्डा र दलिय सिण्डीकेट जस्तो देखियो”- उनले भने-“महासंघले हाम्रा पेशागत मुद्दाहरू सशक्त ढङ्गले उठाउनु पर्छ, खाली सदस्यता बितरण र चुनावी बर्चश्वको मनोविज्ञानबाट मात्रै यसले आफ्नो संस्थागत लिगेसी र बिश्वसनियता जोगाउन सक्दैन,यसको संरचनागत पक्ष नै बुढो भयो, त्यसकारण महासंघको पुनर्संरचना अबको प्रमुख मुद्दा हुनुपर्छ ।”
अध्यक्ष बिश्वकर्माले महासंघका बिभागिय समितिहरुमा विभिन्न आस्था र बिचार भएका संघ/ संगठनहरु आउन सक्ने संरचना चाहिन्छ, यसरी मात्रै नियन्त्रण र सन्तुलन कायम हुन्छ,चुनाव जित्नेहरुले नै सबै कब्जा गर्ने परिपाटीको अन्त्य हुनुपर्ने र सबै संघ/ संगठनले महासंघ हामी सबैको साझा संस्था हो भनेर अनुभुति गर्न पाउनु पर्ने कुरामा समेत जोड दिए।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सूचना तथा सञ्चारको हक स्थापित गराउन महासंघले खेलेको भुमिका सह्रानिय रहेको भएपनि आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयक पारित गराउन तथा नेपाली सञ्चार माध्यमको आगामी गन्तव्यको रूपमा नेपाली बिषेसताको समाजवाद बनाउने उदेश्यले व्यापक बहस सिर्जना गर्न समेत नेपाल पत्रकार महासंघले अगुवाइ गर्नुपर्ने बेला आएको अध्यक्ष बिश्वकर्माको भनाइ थियो।


उक्त कार्यक्रममा समाजवादी प्रेसका अध्यक्ष विश्वमणी सुवेदीले पत्रकारहरुका विभिन्न समस्या र चुनौतीहरूलाई औंल्याउँदै पत्रकारका लागि बनेका नीति, विधि र व्यवस्था कुनै पनि ठिक नभएको बताएका छन् । उनले विज्ञापन वोर्डबाट केही मुठ्ठीभरका पत्रिकाले विज्ञापन पाएको र सरकारी विज्ञापनमा विज्ञापन बोर्डले प्रसेन्टकाे रूपमा कमिसन खाने गरेको बताउदै त्यस्तो कमिसन खाने विज्ञापन वोर्ड खारेजी हुनुपर्ने मागसमेत गरे । सुवेदीले आफुहरु जुनसुकै सङ्गठनमा भएतापनि पेशाका रूपले हामीमा भिन्नता नभएको भन्दै श्रमजीवि पत्रकारका हकहितका लागि एकजुट हुपर्नेमा जोड दिए ।
यसैगरी, प्रेस नेपालका महासचिव विदुर ढुङ्गेलले गैर पत्रकारहरुलाई महासंघको सदस्यता दिएको तर पत्रकारिता गरिरहेकालाई भने अनेक बहानाबाजी गर्दै सदस्यता पाउनबाट बञ्चित गरिएकाेमा आपति जनाए । उनले नेपालकाे आमसञ्चार क्षेत्रमा रहेकाे विद्यमान समस्याहरूलाई समाधान गर्न जनपत्रकार सँगठन नेपालकाे कदममा आफ्नो पनि ऐक्यबद्धता रहेको जानकारी गराए ।
यसैगरी, प्रगतिशिल पत्रकार संघ नेपालका महासचिव प्रकाश थापाले कार्यक्रममा बोल्दै सत्य र खोजमुलक कार्य गर्ने पत्रकारहरुलाई तह लगाउने अनेक प्रपञ्च रचिने गरेको बताए । जसकारण सच्चा पत्रकारिता गर्नेलाई ज्यानको जोखिम रहेको बताउँदै नेपाली आमसञ्चार क्षेत्रमा साना मिडियाहरुलाई हरेक कुराबाट बञ्चित गरिएकोले ठूला दलको सिन्डिकेट तोड्न हामी सबैले एकजुट भई पहल गर्नुपर्नेमा जोड दिएका छन् ।


उक्त अन्तरक्रियामा क्रान्तिकारी प्रेस सङ्गठनका सहसंयोजक नारायण पङ्गेनीले स्वतन्त्र पत्रकारिताका नाममा डरलाग्दो मिसनमा हिँडिरहेका ठुला मिडियाका कारण हामी श्रमजिवि र जनताका हक हितका लागि हिँडेका पत्रकारहरुले आफ्नो पहिचान लुकाउनु पर्ने अवस्था भएको बताए । रवि लामिछानेले उठाएको १२ भाई प्रसंगलाई कोट्याउँदै उनले पत्रकारिताका नाममा दलाली गरिरहेका मिडियाहरुका कारण पत्रकार भनेर भन्न पनि लाज लाग्ने विषय बनेको छ ।
उनलेे भने,’श्रमजीवि पत्रकारको पक्षमा बोल्लान् भनेर हामीले नै चुनेका महासंघका पत्रकारहरु श्रमजीवि भन्दा महासंघका मालिकका पक्षमा बोल्दछन् । बालुवाटारमा बसेर ३ पार्टीको भागबण्डा हुन्छ र महासंघको नेतृत्वको चयन हुन्छ यस्ता खालका गतिविधिलाई रोक्न हामी सम्पूर्ण श्रमजीवी पत्रकारहरुको एकरूपता जरुरी छ र जनपत्रकर सङ्गठनको यो पहल कदमीमा हाम्रो पूर्ण समर्थन रहेको छ ।’
त्यसैगरी नेपाल प्रेस युनियनका उपमहासचिव दिलिपा श्री अधिकारीले पत्रकारले पाउने पारिश्रमिक र सेवा सुविधा नपाइ दिदा उनीहरूको क्षमता अभिवृद्धिमा नै रोकावट आइरहेको बताइन् । सरकारकाे नीति, विधेयककाे विरुद्ध प्रेस युनियन सडकमा उत्रिएकाे भन्दै आगामी दिनहरूमा पनि पत्रकारलाई परेका समस्याका बारेमा विभिन्न सँगठनसँगको एकेबद्धता अगाडि बढ्ने बताइन् ।
जनपत्रकार संगठन नेपालले आयोजना गरेको उक्त कार्यक्रममा सरोकारवाला अन्य निकायको समेत सहभागी रहेको थियो । उपस्थित वक्ताहरुले वर्तमान मिडिया क्षेत्रको जटिलतालाई समाधान गर्न सबै एकजुट भएर निकास दिनुपर्ने बताए ।
कार्यक्रममा अध्यक्षता जनपत्रकार सँगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको रहेको थियो भने कार्यक्रमकाे सञ्चालन जनपत्रकार संगठनकी उपाध्यक्ष जानकी चौधरीले गरेकी थिइन् ।

प्रतिक्रियाहरु