‘वीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा

२०८० आश्विन १७ गते, बुधबार


काठमाडौँ । नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्र चन्दले वीरजङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताएका छन । महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चन्दले सो जानकारी दिएका हुन् । उनले प्रतियोगितामा नौ वटा टिमले सहभागी हुनेसमेत बताए ।
यसैगरी , सोही पत्रकार सम्मेलनमा महासंघका उपाध्यक्ष अनिलकुमार पुन मगरले राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग र नेपाल भलिबल संघको प्राविधिक सहयोगमा वीरजङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगित हुन लागेको बताए । भने महासंघका महासचिव विनोदविक्रम चन्दले वीरजंगको आचरण, क्षमता र योगदानको राज्यले सम्मान गर्नुपर्ने बताए । उनले वीरजंगको मृत्युको कारण पनि राज्य नै भएको ठोकुवा गर्दै वीरजंगलाई अमर बनाइराख्नुपर्छ भनेर उनकै नाममा प्रतियोगिता आयोजना गरिएको बताए ।
असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँबसपार्कस्थित् ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा हुने उक्त प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश र किङ्गस क्लब, धौलागिरी रेष्टुरेन्ट सान्धा जापान क्लब, गलकोट स्पोर्ट क्लब, न्युटन चिल्ड्रेन एकेडेमी, त्रिभुवन विश्वविद्यालय आरआर क्याम्पस र आयोजक टिम खेलमा सहभागी हुने बताइएको छ ।
प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख, द्धितीय पुरस्कार दुई लाख ५० हजार, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको महासंघले जनाएको छ । साथै, उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच÷पाँच हजार पुरस्कारको व्यवस्था रहेको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु